झापा, जेठ ६ । झापामा एकैदिन प्रतिबन्धित लागूऔषधसहित ८ जना पक्राउ परेका छन् ।

हिजो दिउँसो ४ बजेको समयमा जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं. ५ देवीबस्ती मेचीकिनारमा वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी बल बिओपी भद्रपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका नुवाकोट तार्केश्वर गाउँपालिका वडा नं. ३ बस्ने २९ वर्षिय सानुबाबु रिमाललाई शंका लागेर चेकजाँच गर्दा लुकाई छिपाई ल्याउँदै गरेको ५ ग्राम ३२० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको छ ।

त्यस्तै हिजो साँझ ५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं. ६ स्थित पुरानो मेची पुलमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. ६ बस्ने ३५ वर्षिया दिलमाया श्रेष्ठलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ६ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

त्यस्तै हिजै साँझ ६ बजेको समयमा दमक नगरपालिका वडा नं. ३ बेलडाँगीमा ब्राउनसुगर बिक्री वितरण भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी बाघखोर र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बेलडाँगीबाट खटिएको संयुक्त प्रहरी टोलीले सोही ठाउँ बस्ने ४१ वर्षिय निर्पा राई, ३२ वर्षिय सन्जोग गुरुङ, १९ वर्षिय मन्दिप दर्जी, १९ वर्षिय अविराज गुरुङ, २३ वर्षिय मिलन गुरुङ र २४ वर्षिया दिलु तामाङलाई फेला पारी चेकजाँच गर्दा उनीहरुको साथबाट ६ ग्राम ब्राउनसुगर र २ थान मोबाइल बरामद भएको थियो । उनीहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्