बिर्तामोड, जेठ ६। बितामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको जेठ १५ गते हुने निर्वाचनका लागि स्वतन्त्र प्रगतिशील प्यानलले उम्मेद्वार घोषणा गरेको छ ।

स्वतन्त्र प्रगतिशील प्यानल निर्वाचन परिचालन तथा प्रचार समितिले शनिवार पत्रकार सम्मेलन गरी उम्मेद्वार घोषणा गरेको हो ।

सो प्यानलबाट अध्यक्षमा देवेन्द्र सिटौला, उपाध्यक्षमा प्रदिप खरेल, सचिव विष्णुप्रसाद चुडाल, कोषाध्यक्षमा विनिता राजवंशीले उम्मेद्वारी दिने पत्रकार सम्मेलनमार्फत् जानकारी दिइयो ।
त्यस्तै समितिको खुला सदस्यहरुमा छत्रबहादुर श्रेष्ठ र रमेश उप्रेती तथा महिला सदस्यहरुमा तारा राई, पुनम अधिकारी सुब्बा र सीमा सिलवाल ढुंगानाले उम्मेद्वारी दिने भएका छन् ।

अध्यक्षका उम्मेदवार सिटौला कांग्रेस छाडेर एमाले , माओवादी केन्द्र र जसपाको गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका हुन् ।त्यस प्यानलमा एमालेले उपाध्यक्षसहित चार सदस्य पाएको छ भने माओवादीले सचिव र एक सदस्य पाएको छ । जसपाको भागमा भने कोषाध्यक्ष परेको छ ।
स्वतन्त्र प्रगतिशील प्यानल निर्वाचन परिचालन तथा प्रचार समितिका संयोजक देवराज कार्कीको अध्यक्षतामा भएको उम्मेद्वारी घोषणा कार्यक्रममा प्रदेश सभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।

खानेपानी संस्था उपभोक्ताहरुको योगदानमा सञ्चालित सामाजिक संस्था भएकाले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने मान्यता विगतदेखि नै रहिआएको अध्यक्ष पदका उम्मेद्वार सिटौलाले बताए ।

तर, त्यस्तो हुन नसकेकाले बिर्तामोडका क्रियाशील मुख्य राजनीतिक शक्तिहरु तथा स्वतन्त्र सामाजिक व्यक्तिहरु मिलेर निर्वाचनमा सामूहिक प्रतिष्पर्धा गर्ने उद्देश्यले स्वतन्त्र प्रगतिशील प्यानल निर्माण गरेको सिटौलाले बताए ।
उम्मेदवार सार्वजनिक तथा परिचयात्मक पत्रकार सम्मेलनमा प्रमुख अतिथि कार्की, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य कुवेर श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन गणेश पोखरेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्