झापा, जेठ ७ । कोशी प्रदेशलाई पर्यटकीय गन्तव्य बनाउनका लागि भारतीय पर्यटकहरुलाई आमन्त्रण गरिने भएको छ ।

नेपाल टुरिजम बोर्डको आयोजना तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको सहआयोजनामा नेपाल सेल्स मिसन इन इण्डिया कार्यक्रममार्फत कोशी प्रदेशका १५ भन्दा बढी ट्राभल एजेन्सीहरु कोशी प्रदेशका पर्यटकीय क्षेत्रहरु समेटेर बनाइएको प्रचार–प्रसार सामग्री (ब्रुसर, फ्लेक्स व्यानर, प्रवर्द्धन भिडियो) सहित सहभागी हुनेछन । जसले गर्दा भारतीय पर्यटकहरु कोशी प्रदेश र नेपालमा धेरैभन्दा धेरै भित्रिएर कोशी प्रदेश र नेपालको पर्यटकीय गतिविधि बढ्ने र भारतीय पर्यटकबाट नेपाली पर्यटन व्यवसायीले आर्थिक आयआर्जन गर्न सकिने विश्वास गरिएको छ ।

जेठ ८ देखि १३ गतेसम्म भारतको सिलिगुडी, आसामको गुवाहाटी र मेघालयको सिलोङ्गमा नेपाल प्रवर्द्धन कार्यक्रम गरिन लागिएको नेपाल टुरिजम बोर्डका सेल्स एण्ड मार्केटिङ म्यानेजर सूर्य थपलियाले बताए ।उनले कार्यक्रममा नेपाल टुरिजम बोर्डका प्रतिनिधि, पर्यटन कार्यालयका प्रतिनिधि , नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका प्रतिनिधि, कोशी प्रदेशका ट्राभल एजेन्सीका सञ्चालक, पत्रकार गरी २० जनाको सहभागिता रहने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का कोशी प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठले जानकारी दिए । भारतको सिलिगुडी, आसामको गुवाहाटी र मेघालयको सिलोंगमा रहेका ट्राभल एजेन्सी, ठूला होटलका सञ्चालक, कर्मचारी, विभिन्न व्यवसाय, शिक्षा, स्वास्थ्य क्षेत्रमा आवद्ध व्यक्तिहरुसँग विजनेस टु विजनेस कार्यक्रम गरिने श्रेष्ठले जानकारी दिए ।

भारतीय पर्यटकलाई कोशी प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रका विषयमा जानकारी प्रदान गर्दै उनीहरुलाई ती क्षेत्र घुम्न आग्रह गर्ने नाट्टाका कोशी प्रदेशका महासचिव नविन खरेलले बताए । उनले व्यवसायीले भोग्नु परेका आर्थिक कठिनाईलाई केहि सहज हुने अपेक्षासहित कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेपाल टुरिजम बोर्डका अधिकृत गोपाल भण्डारी, नाट्टाका सल्लाहकार शेखर ढकाललगायतले यस्तो कार्यक्रमबाट कोशी प्रदेश तथा नेपालमा पर्यटकीय गतिविधि वढ्नुका साथै भारतीय पर्यटकको आगमनबाट नेपाली पर्यटन व्यवसायीले आर्थिक उपार्जन गरि नेपाली पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन गर्न सकिने बताए । नेपालमा वर्सेनि ३० लाख भारतीय पर्यटक नेपाल आउने गरेको बताईएको छ । नेपालको पर्यटन व्यवसायमा उनीहरुको ठूलो योगदान रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्