झापा, जेठ ७ । जेठ १२ र १३ गतेका लागि बिर्तामोडमा निर्धारित कोशी प्रदेशस्तरीय फस्ट मिस्टर कन्चनजंघा बडीबिल्डिङ प्रतियोगिता १३ दिनपछि सरेको छ ।

कोशी प्रदेश सरकारको खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेको निलम्बनका कारण प्रतियोगिता केही दिन पछि सरेको आयोजकले आइतवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । आयोजक बडी ग्यारेज बिर्तामोडका अध्यक्ष अर्जुनकुमार मैनालीले सो प्रतियोगिता जेठ २५ र २६ गतेका लागि सारिएको जनाएका छन् । जेठ २५ गते बिहीवार दिउँसो १२ बजेदेखि बिर्तामोडको अतिथि सदनमा प्रिजजिङ र २६ गते दिउँसो १२ बजेदेखि सिटी सेन्टरमा फाइनल राउन्ड हुने उनले जानकारी दिए ।

दुई वर्षअघि कोशी प्रदेशस्तरीय फस्ट मिस्टर कन्चनजंघा बडीबिल्डिङ प्रतियोगिता सफल रुपमा सम्पन्न गरेको बडी ग्यारेज बिर्तामोडले अर्को संस्करण गर्न लागेको हो ।
प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजीभन्दा माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख ११ हजार १ सय ११ रुपैयाँ, द्वितीय पुरस्कार २ लाख ५० हजार रुपैयाँ, तृतीय पुरस्कार १ लाख ५० हजार रुपैयाँ, चौँथो पुरस्कार १ लाख रुपैयाँ र पाँचौ पुरस्कार ७५ हजार रुपैयाँ रहेको छ ।

साथै हरेक तौल समूहमा द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः १० हजार र ५ हजार रुपैयाँ र साथमा मेडल र ट्रफीसमेत प्रदान गरिने बडी ग्यारेजका अध्यक्ष मैनालीले बताए । उनले काठमाडौं उपत्यका बाहिरको ठूलो धनराशि र सुविधा भएको प्रतियोगिता आफूहरुले आयोजना गरेको जानकारी दिए । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुका लागि यातायात र खानेबस्नेको व्यवस्था मिलाइएको उनको भनाइ छ ।कार्यक्रममा केन्द्रीय सदस्य दिपेन चौधरी ,सचिव राजेश गिरीले प्रतियोगिताका बारेमा जानकारी दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्