झापा,जेठ ७ । पार्टी परित्याग गरी नेता कार्यकर्ताहरु धमाधम राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न थालेपछि नेपाली कांग्रेस झापामा हलचल मच्चिएको छ ।

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनअगाडि रास्वपामा प्रवेशको लहर देखिएको हो । रास्वपाको बिर्तामोडमा आयोजित नगर स्तरीय कार्यक्रममा कांग्रेस परित्याग गरी धेरैजनाले पार्टी प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस झापा क्षेत्र नम्बर २ को १ का सचिवालय सदस्य तथा क्षेत्रीय प्रतिनिधि रविन्द्र भट्टराई, नेपाली कांग्रेस बिर्तामोड नगर समितिका पूर्व सचिव उत्तम खनाल, नेपाली कांग्रेस बिर्तामोड–४ का पूर्व वडासभापति राजकुमार प्रसाई, युनिकम नेपालका केन्द्रीय अध्यक्ष नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि गजेन्द्र पौडेल, बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा नेपाली कांग्रेसका पूर्व क्षेत्रीय प्रतिनिधि राजकुमार घिमिरे राजु, बिर्तामोड ५ का टोल समिति अध्यक्ष चित्रबहादुर पोखरेल दीपक, ब्यवसायीहरु रुपक थापा, सुवोध पाठक, नेकपा एमालेका नरेन्द्रराज प्रसाईलगायत पार्टी परित्याग गर्दै रास्वपामा प्रवेश गरेका हुन् । त्यस्तै विवेकशील पार्टीका जिल्ला अध्यक्ष मेदनी प्रसाईसहित सिंगो जिल्ला समिति पनि रास्वपामा समाहित भएको छ । नेपाली कांग्रेसका ३ हजार नेता कार्यकर्ता रास्वपामा आउने तयारीमा रहेको रास्वपाका बिर्तामोड नगर सदस्य कमलमोहन उप्रेतीले बताए । ‘खासगरी नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङको निकट रहेका नेता कार्यकर्ताहरुको समूह हाम्रो पार्टीमा आउन खोजिरहेका छन् ’उनले भने, ‘तर, हाम्रो पार्टीमा प्रक्रिया पूरा गरी मात्र प्रवेश गर्न सकिन्छ ।’अनलाइनमार्फत फारम भरेर केन्द्रीय समितिबाट अनुमोदन भएकाहरुलाई मात्र नगर अधिवेशनमा पार्टी प्रवेश गराएको उनले जानकारी दिए ।

अटो चालक , यातायातकर्मी , मजदुरजस्ता श्रमजीविहरु आफूहरुको पार्टीमा आउने लहर चलेको बिर्तामोडका नगर अध्यक्ष शम्भु भण्डारीले बताए । बिर्तामोडमा मात्र नभएर झापा जिल्लाभरि नै पार्टी प्रवेशको तीब्र लहर चलेको जिल्ला नेता प्रकाश पाठकले जानकारी दिए । बिर्तामोड खानेपानीको उम्मेदवार घोषणा गर्न हिजो आयोजित कार्यक्रममा पनि पार्टी छोडेर कार्यकर्ताहरु रास्वपामा गइरहेको विषयमा चर्चा चलेको थियो ।



