एजेन्सी । चीनले साइबर सुरक्षाको जोखिम भन्दै संयुक्त राज्य अमेरिकी सेमिकन्डक्टर उत्पादक कम्पनी माइक्रोनका केही उत्पादनको बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

यो कदमलाई अमेरिकी र चीनबीचको आर्थिक प्रतिस्पर्धामा ‘जस्तालाई तस्तै’ भन्ने तरिकाले हेरिएको छ । अमेरिकाले हुवावे, जेटटीईजस्ता चिनियाँ टेक कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । त्यसकै बदलाका रूपमा चीनको यो कदमलाई हेरिएको छ । गत वर्ष अमेरिकाले चिनियाँ राज्य समर्थित मेमोरी चिप निर्माता यांग्त्जे मेमोरी टेक्नोलोजी कर्पोरेसनलाई स्वीकृतिबिना आपूर्ति गर्नबाट रोक लगाउने प्रतिबन्धको सूचीमा थपेको थियो । चीनको साइबरस्पेस एडमिनिस्ट्रेसनले आइतबार (हिजो) घरेलु फर्महरूलाई मुख्य सूचना पूर्वाधारका लागि माइक्रोनबाट किनमेल रोक्न भनेको छ । मुख्य सूचना पूर्वाधार भनेर चीनले दूरसञ्चार, ऊर्जा, यातायात, वित्त, रक्षा र राष्ट्रिय हितसँग सरोकार राख्ने अरू क्षेत्रहरूलाई परिभाषित गरेको छ ।

साइबरस्पेस एडमिनिस्ट्रेसनले माइक्रोनका उत्पादनमा गम्भीर साइबर सुरक्षा समस्या रहेको र यसले देशको प्रमुख सूचना आपूर्तिमा ठूलो जोखिम खडा गर्ने उल्लेख गरेको छ । करिब १६ वर्षअघि चीनमा पहिलो कारखाना खोलेको माइक्रोन कम्पनी डाइनामिक र्‍याम मेमोरी र फ्ल्यास मेमोरीहरू उत्पादन गर्न प्रख्यात छ । सन् २०२२ मा यसको वार्षिक राजस्वको १०.७ प्रतिशत हिस्सा चीनको थियो । चीन यसको तेस्रो ठूलो बजार हो । माइक्रोनमाथिको प्रतिबन्धले चीनमा यसका प्रतिस्पर्धी दक्षिण कोरियाली जायन्ट सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सलाई फाइदा पुर्‍याउन सक्छ । तर, अमेरिकाले दक्षिण कोरियालाई चीनमा चिप्स नबेच्न भनेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्