बिर्तामोड, जेठ ८ । बिर्तामोडमा आयोजित प्रथम कर्पाेरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि डि डब्ल्यु वानले जितेको छ ।

सोमबार भएको फाइनल खेलमा मन्त्र थकालीलाई पराजित गर्दै डि डब्ल्यु वानले उपाधि हात पारेको हो ।
निर्धारित ५ ओभरको सुपर सिक्स प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको मन्त्र थकालीले ४ विकेटको क्षतिमा ६१ रन बनाएको थियो । ६२ रनको लक्ष्य डि डब्ल्यु वानले ४ दशमलव ४ ओभरमा ४ विकेटको क्षतिमा पुरा गरेको थियो ।

डि डब्ल्यु वानका विकास दासले ८ बलमा सर्वाधिक १८ रन बनाएका थिए । त्यस्तै पूर्व राष्ट्रिय खेलाडी सिद्धान्त लोहनीले ९ रन जोडेका थिए । मन्त्र थकालीका विकास राजवंशी र सोनु मण्डलले समान १–१ विकेट लिएका थिए । डि डब्ल्युका दुई ब्याट्सम्यान रन आउट भएका थिए । यसअघि ब्याटिङ गरेको मन्त्र थकालीले रामनारायण श्रेष्ठको २१ रन र पूर्व राष्ट्रिय खेलाडी मेहबुब आलमको १४ रनको मद्धतले ६१ रन बनाएको थियो । फाइनल खेलको म्यान अफ द म्याच डि डब्ल्युका विकास दास घोषित भए ।

सोमवार नै भएको पहिलो सेमिफाइनलमा एमकेकेलाई मन्त्र थकालीले २३ रनले जितेर फाइनल पुगेको थियो भने दोस्रो सेमिफाइनलमा इकोम्याट्सलाई तीन विकेटले पराजित गर्दै डि डब्ल्यु वान फाइनलमा पुगेको थियो । फाइनल बिजेता डि डब्ल्यु वानले उपाधिसहित नगद १ लाख प्राप्त गरेको छ भने उपबिजेता मन्त्र थकालीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगिताको बेस्ट ब्याट्सम्यान मनिष थापा, बेस्ट बलर हेमराज सिटौला, प्लेयर अफ द टुर्नामेन्ट सोनु मण्डल, बेस्ट फिल्डर निशोर मण्डल, बेस्ट विकेट किपर मुकुन्द यादव भए । उनीहरुलाई ट्रफीसहित नगद पुरस्कार प्रदान गरिएको थियो ।
बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा शनिबारदेखि भएको प्रतियोगितामा बिर्तामोडका कर्पाेरेट २१ वटा टिमको सहभागिता रहेको आयोजक समितिका सचिव बिसन लिम्बूले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्