झापा , जेठ ९ । नेपाल पञ्चाङ्ग निणर्ायक विकास समितिसँग स्वीकृति नलिइ दुई सयभन्दा बढी भित्तेपात्रो स्वीकृतिबिना प्रकाशन भएको पाइएको छ ।

यसैगरी चारवटा पात्रो स्वीकृतिबिना प्रकाशन भएका छन् । समितिले गठन गरेको अनुगमन उपसमितिको प्रारम्भिक अनुगमनबाट ती पात्रो र भित्तेपात्रो स्वीकृतिबिना प्रकाशन भएको पाइएको संयोजक मुरारी पाण्डेले जानकारी दिए । समितिबाट स्वीकृति नलिइ प्रकाशन भएका पात्रोमा ज्वाला पञ्चाङ्गम्, वैदिक पञ्चाङ्गम्लगायत रहेका छन् । प्रकाशन भएका पात्रो र भित्तेपात्रोको अनुगमन जारी रहेको उनले बताए । उपसमितिले प्रारम्भिक अनुगमन गरी त्यसको तथ्याङ्क संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका संस्कृति महाशाखा प्रमुखको नेतृत्वमा रहेको अनुगमन समितिमा पेस गरिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । अनुगमन समितिले कानुनी कारबाहीका लागि प्रतिवेदन गृह मन्त्रालयमा पेस गर्ने बताइएको छ । समितिसँग स्वीकृति लिएर १५ पात्रो र करिब एक हजार भित्तेपात्रो प्रकाशन भएका छन् । सही तिथिमिति र चाडपर्वको जानकारी लिन समितिले स्वीकृति दिएका पात्रो र भित्तेपात्रो मात्र प्रयोग गर्न समितिले आग्रह गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्