झापा,जेठ ९ । जैविक विविधताले भरिपूर्ण दक्षिण एसियाकै विशिष्ट प्रकारको जलथल वनलाई जैविक क्षयबाट रोक्नुपर्नेमा जोड दिइएको छ ।

माइकेनियाले छोपेको जलथल वन

जैविक विविधता दिवसका अवसरमा हल्दीवारी ४ स्थित पाथीभरा कालीका सामुदायिक वन उपभोक्ता समूहले मंगलवार आयोजना गरेको जंगल सफारी कार्यक्रमका सहभागीहरुले जलथल वन जति महत्वपूर्ण छ, त्यति नै संवेदनशील रहेकाले जैविक क्षय हुनबाट रोक्न सबै सरोकारवालाहरु लाग्नुपर्नेमा जोड दिएका हुन् । बहुसरोकारको प्रक्रियाले मात्र जलथल वनको संरक्षण हुने भएकाले त्यसमा सबैले चासो लिनुपर्ने उनीहरुको भनाई छ ।

जंगल सफारीको टोली

जलथल वनमा वन फडानी, अतिक्रमण, चोरी शिकारी तथा वन्यजन्तु (विशेष गरी हात्ती)मानव द्वन्द्व बढ्दो छ ।यो वनमा मिचाहा प्रजाति पनि एउटा मुख्य चुनौती हो । जसमा पछिल्लो समय माइकेनिया नामक मिचाह प्रजाति ठूलो समस्याको रुपमा देखिएको छ । त्यस्तै जलथल वनभित्र र बाहिर हुने विकास निर्माणले पनि वनको जैविक विविधतामा प्रतिकुल असर परिरहेको छ ।
जलथल वन क्षेत्रफलको दृष्टिले सानो भएता पनि भौगोलिक, जैविक तथा प्राकृतिक रुपमा विविधतापूर्ण, पर्यावरण तथा वातावरणीय दृष्टिले संवेदनशील रहेको हो । सामाजिक ,सांस्कृतिक दृष्टिले समेत महत्वपूर्ण सम्पदा भएकाले यसको संरक्षणमा हातेमालो गर्नुपर्ने देखिएको छ । फरेस्ट एक्सन नेपालका कार्यक्रम संयोजक डा. लीलानाथ शर्माले राजनीतिमा जलथल जंगलको एजेन्डाले प्राथमिकता नपाएको बताए ।उनले जीवन्त वातावरणीय इतिहास बोकेको जलथल वनको सम्पदालाई जोगाउन विलम्व गर्न नहुने धारणा राखे ।

प्रस्तुती दिँदै वन समूह अध्यक्ष पोर्तेल

पाथीभरा कालीका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सागर पोर्तेलले जलथलजस्तो विशिष्ट प्रकारको वन अरु ठाउँमा नभएकाले पर्यापर्यटनको विकासका लागि लाग्नुपर्नेमा जोड दिए । उनले नियमित रुपमा जंगल सफारीलाई निरन्तरता दिँदै जलथल वनमा पदयात्राको शुरुवात गर्ने जानकारी दिए । जंगल सफारीमा हल्दीवारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा, वन समूहका पदाधिकारी,संचारकर्मीलगायतको सहभागिता रहेको थियो ।

थाकल


झापा जिल्लाको दक्षिणपूर्वी भागमा पर्ने जलथल वन हल्दीबारी गाउँपालिका, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका तथा भद्रपुर नगरपालिकाको करिब ६१०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । हाल जलथल वन २२ वटा सामुदायिक वनले व्यवस्थापन गरेका छन् । गाउँहरुको बीचमा टापुजस्तै रहेको यो वन फडानी हुनबाट बचेको चारकोसे झाडीको एउटा खण्ड पनि हो । नेपालकै होचो भूभागमा अबस्थित यस वन होचा थुम्काथुम्की, खोल्साखोल्सी तथा सिमसार आदिले भौगोलिक रुपमा विविधतापूर्ण छ । मुख्य गरेर सालको वन भएता पनि यहाँ सालको मिश्रित वन तथा खोल्सा खोल्सीमा उष्ण प्रदेशीय सदाबहार वनका बुच्काहरु समेत पाइन्छ ।
यो वन जैविक विविधताको दृष्टिकोणले धेरै महत्वपूर्ण र धनी छ । हात्ती, सालक र सुनौलो कछुवा जस्ता संकटापन्न तथा संरक्षित जीवजन्तुको बासस्थान समेत रहेको यस वन क्षेत्रमा २७ प्रजातिका स्तनपायी जनावरहरु, २४० प्रजातिका चराहरु, १४ प्रजातिका उभयचरहरु, १५७ प्रजातिका पुतलीहरु र ४३ प्रजातिका माछाहरु पाइन्छ ।

दुर्लभ सर्पगन्धाको बिरुवा

वानस्पतिक विविधतामा जलथल वन निकै सम्पन्न र विशेष छ । ५५० प्रजातिका पूmल फुल्ने बनस्पतिहरु पाइने यस वनमा ४० भन्दा धेरै उन्युका प्रजातिहरु पाइन्छन् । नेपालमा पाईने छ सय रुखहरुमध्ये १५० भन्दा धेरै प्रजातिका रुखहरु जलथलमा पाइन्छन्।नेपालको अन्यत्र कमै पाईने लटहर,मालागिरी, वननिवारो, आम्पाते, चिलले वेत, वन सुपारी, वन सुन्तला, औट्यांगा, चुंयेल जस्तादुर्लभ वनस्पतिले जलथल वनको महत्व अझै बढाएको छ । दक्षिण पूर्वी एसियामा प्रशस्त पाइने लटहर पूर्वी नेपालमा आएर रोकिन्छ । नेपालमा लटहरको सबैभन्दा ठूलो वन जलथलमै छ ।यी तथ्यहरुको आधारमा जलथल वन नेपालको रुखहरुको प्राकृतिक संग्रहालय जस्तै हो ।
जलथल वन सन्थाल, मेचे, राजवंशी जस्ता आदिवासी लगायत अन्य समुदायको समेत गरेर करिब ८० हजार उपभोक्ताको संस्कृति र जीविकोपार्जनसँग पनि जोडिएको छ ।सांस्कृतिक रुपमा स्थानीयहरुको मठ, मन्दिर तथा धार्मिक क्षेत्र जलथल वनमा रहेको छ । १५० भन्दा धेरै प्रजातिका बनस्पतिहरु घरायसी प्रयोजनका लागि प्रत्यक्ष रुपमा उपभोग गरिने यस वनमा वन सुपारी, चुयल, कुसुम, अमारो लगायतका ४७ प्रजातिका जंगली फलपूmलहरु पाइन्छन् भने १७ थरिका वनस्पतिको सागपात र फल तरकारीको रुपमा प्रयोग गरिन्छ । ३५ प्रजातिका वनस्पतिलाई परम्परागत औषधीमुलोको रुपमा प्रयोग गरिन्छ ।७० प्रजातिका रुख बुट्यानलाई डाले घाँसको रुपमा प्रयोग गरिन्छ भने यस वनमा पाइने ३५ प्रजातिका रुखहरु काठको रुपमा प्रयोग गरिन्छ । स्थानीयहरुको परम्परा तथा संस्कृति यो वनसँग जोडिनु तथा घाँस दाउरा, निगुरो, च्याउ, जडिबुटी, र कन्दमुल संकलन गर्न दैनिक रुपमा वन जानुले पनि जलथल वनको महत्व जैविक विविधतामा मात्र हैन, सामाजिक र सांस्कृतिक जीवनमा समेत भेटिन्छ ।

यसैबीच विश्व जैविक विविधता दिवसको अवसरमा फरेस्ट एक्सन नेपालले जलथल वनको जैविक विविधता समेटिएको वृतचित्र प्रदर्शन गरेको छ । हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले औपचारिक रूपमा वृतचित्र उद्घाटन गरेका थिए ।

पुरस्कार वितरण गर्दै अध्यक्ष लिङ्देन

जैविक विविधता दिवसकै अवसरमा ‘जलथलमा २३ कामहरु’ शीर्षकमा भएको चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने सिग्मा इङ्लिस स्कुलका विद्यार्थीहरू सोनिक तामाङ र नम्रता राजवंशी, द्वितीय स्थान हासिल गर्ने हल्दीबारी मा.वि.का किशोर फागो तथा तृतीय हुने पशुपति मा. वि. का पारस राजवंशी र हिमाली मा. वि. का प्रिया सिंहलाई पुरस्कार वितरण गरिएको छ । यस्तै जलथल क्षेत्रमा ईको क्लब गठन भएका हिमाली मा.वि., पथरिया मा. वि., हल्दीबारी मा. वि., पशुपति मा.वि. र लक्ष्मी मा. वि. लाई शैक्षिक सामग्री वितरण गरिएको थियो।
पाथीभरा कालीका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दीबारी गाउँपालिका अध्यक्ष लिङ्देन, अतिथिहरु हल्दीबारी गाउँपालिका उपाध्यक्ष मैनाली, वडा नं ४ का वडाध्यक्ष थापा, डिभिजन वन कार्यालयका निमित्त प्रमुख नथुनी यादव, फेकोफन झापाका उपाध्यक्ष चन्द्र तामाङ,सव डिभिजन वन कार्यालय रंगेडाँडाका प्रमुख राजु खड्का, रेडक्रस जलथलका सभापति रेम खरेल, वडा नं ४ का वडा सचिव जयप्रसाद पोखरेललगायत विभिन्न वन समूहका अध्यक्ष लगायत प्रतिनिधिहरू, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिहरू, विद्यार्थीहरूलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै लिङ्देनले दक्षिण एसियामै जैविक विविधताले भरिएको वनका रूपमा परिचित जलथल वनलाई चिनाउन यो महत्वपूर्ण सामग्री भएको धारणा राखेका थिए। उनले जैविक विविधता संरक्षणमा गाउँपालिकाले सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए। यस्तै डिभिजन वन कार्यालयका निमित्त प्रमुख यादवले जलथलको बारेमा बनेको भिडियो सामग्रीमार्फत पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए। हल्दीबारी गाउँपालिका उपाध्यक्ष मैनालीले एउटा दस्तावेज तयार भएको र यसले जलथल वनको प्रचारमा सहयोग पुग्ने भन्दै फरेस्ट एक्सनलाई धन्यवाद दिएकी थिइन्।

जिल्ला महासंघ झापाका उपाध्यक्ष तामाङले वनको स्रोत सर्वेक्षण गरि प्रकाशन गरिएका अध्ययन सामग्री र वृतचित्रले जलथल के हो भनेर बुझाउन सकिने धारणा राखेका थिए। कार्यक्रमको समापन गर्दै पाथीभरा कालीका वन उपभोक्ता समूहका अध्यक्ष पोर्तेलले समूहले पनि आगामी दिनमा वनको प्रचार प्रसारमा लागिपर्ने र यहाँका दुर्लभ वनस्पति एवम् वन्यजन्तु संरक्षणका विभिन्न कार्यक्रम गर्ने जानकारी गराएका थिए। फरेस्ट एक्सन नेपालका कार्यक्रम संयोजक डा. शर्माले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन संचारकर्मी देवीका अधिकारीले गरेकी थिइन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्