झापा, जेठ १० । नेपाल पत्रकार महासंघले शुद्धिकरण अभियान संचालन गरिरहँदा प्रेस युनियन झापाले भने संगठनलाई राजनीतिक भर्तीकेन्द्र बनाएको पाइएको छ ।

शुद्धिकरण अभियानअन्तर्गत महासंघले पत्रकारितामा सक्रिय नरहेका, राजनीतिक दलको कुनै पनि तहको समितिमा रहेका, जनप्रतिनिधि, नेपाल सरकारको स्थायी, अस्थायी र करार सेवाका कर्मचारी, कहिलेकाहि मात्र पत्रकारिता गर्ने, गैरसरकारी तथा वित्तीय क्षेत्रका कर्मचारी, ६ महिनाभन्दा लामो समयदेखि विदेशमा रहेका महासंघ कार्यसमितिका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरुको सदस्यता नवीकरण नगर्ने निर्णय गर्दै त्यस्ता साधारण सदस्यहरुलाई २०८० जेठ ५ गते भित्रमा स्वेच्छिक रुपमा सदस्यता त्यागको स्वः घोषणा गर्नका लागि अनुरोध गरेको थियो ।त्यस अनुरोधलाई मानेर झापाका केहीले स्वेच्छिक रुपमा सदस्यता परित्याग गरेका थिए । अनिल वाग्ले , होमकुमारी कुमाल , पुजनकुमारी आचार्य , कोपिला खड्का बस्नेत , रंजित परियारले स्वेच्छिक रुपमा सदस्यता परित्याग गरेका हुन् । झापामा महासंघका २५५ जना सदस्य रहेका छन ।
तर, प्रेस युनियन झापाले भने आफ्नो संगठनलाई अझ राजनीतिक अखडा बनाएको भर्खरै सम्पन्न अधिवेशनले देखाएको छ । अधिवेशनअगाडि रहेका एक सयजना सदस्यमध्ये अधिकांश पत्रकारितामा संलग्न छैनन् । त्यसमा अझ संगठनले यस वर्ष ४० जनालाई नयाँ सदस्य थपेको छ । उनीहरु पनि सबै पत्रकारितामा क्रियाशील होइनन् ।पत्रकारिता नै नगरेकालाई कार्यसमितिमै ल्याएको भन्दै अध्यक्षका प्रत्यासी राजेन्द्र गौतम स्वयंले सामाजिक संजालमा गुनासो पोखेका थिए । अध्यक्षमा निर्वाचित गिरीराज भट्टराईले पनि आफ्नो संगठनमा सदस्य रहेका सबै पत्रकारितामा क्रियाशील नरहेको स्वीकार गरेका छन् । उनले अधिवेशनअघि ३४ जनाको नवीकरण नगरिएको जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्