झापा, जेठ ११ । नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घटेको छ ।

प्रत्येक वर्ष १० प्रतिशतसम्म आयात बढ्ने गरेकामा यो वर्ष खपतमा कमी हुँदा आयातमा समेत कमी भएको हो । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन-वैशाख)सम्म दुई खर्ब २४ अर्ब ५७ लाख ५७ हजार रुपियाँ बराबरको २१ लाख २५ हजार ४६४ किलोलिटर (डिजेल, पेट्रोल, हवाई इन्धन, मटितेल र ग्यास) पेट्रोलियम पदार्थ आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा दुई खर्ब २३ अर्ब ६३ करोड ८४ लाख ८२ हजार रुपियाँ बराबरको २५ लाख ४३ हजार ६९४ किलोलिटर पेट्रोलियम पदार्थको आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा यसपालि रकममा भन्दा पनि परिणाममा इन्धन आयात कम भएको निगमले जनाएको छ । इन्धन आयात कम भएसँगै व्यापार घाटामा समेत कमी आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले सुरुमा इन्धनको मूल्य बढेको र पछिल्लो समय आन्तरिक बजारमा खपत कम हुँदा आयातमा कमी भएको जानकारी दिए । दस महिनामा सबैभन्दा धेरै डिजेलमा २६ प्रतिशतले खपत कम भएको उनले जानकारी दिए । गत वर्ष सो अवधिमा १४ लाख एक हजार ८०४ किलोलिटर डिजेल खपत भएकामा चालु आवको सो अवधिमा घटेर १० लाख ३६ हजार किलोलिटरमा झरेको छ । विकास निर्माणका काम तीव्र गतिमा नहुनु र सीमानाकाको तुलनामा नेपालमा डिजेल, पेट्रोलको मूल्य कम भएकाले तस्करी नहुँदा खपतमा कमी आएको साहले जानकारी दिए । मुलुकमा आर्थिक सङ्कटका कारण विकास निर्माण पूणर् रूपमा सञ्चालन नहुँदा डिजेल खपतमा कमी आएको छ । निगमका अनुसार औद्योगिक क्षेत्रमा २५ देखि ३० प्रतिशत डिजेल खपत हुने गर्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्