झापा , जेठ ११ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरस्तरीय वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गर्ने भएको छ ।

नगरपालिकाले गत चैतमा सञ्चालन गरेको वार्षिक परीक्षामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गर्ने भएको हो । नगरपालिकाले सञ्चालन गरेको शैक्षिकसत्र २०७९ को वार्षिक परीक्षाअन्तर्गत कक्षा ६-९ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा हलेसी तुवाचुङ-१० अर्खौलेस्थित सरस्वती मावि पहिलो भएको छ । सो विद्यालयलाई रु दुई लाख प्रदान गरिने छ । यस्तै हलेसी तुवाचुङ-१ बाहुनीडाँडाको कालिका मावि दोस्रो तथा हलेसी तुवाचुङ-९ धितुङस्थित बुलापन्थे मावि तेस्रो भए । दुवैलाई क्रमशः रु ५० हजार र २० हजार प्रदान गर्ने निणर्य गरिएको नगर शिक्षा शाखा प्रमुख पदमबहादुर कार्कीले जानकारी दिए । यस्तै कक्षा ४-५ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा हलेसी तुवाचुङ-४ बडहरेस्थित खोक्सेली विद्यालय प्रथम, सोही वडाका बोझेओडार र हलेसी तुवाचुङ-१ बाहुनीडाँडाको जनचेतना विद्यालय तेस्रो भए । ती विद्यालयलाई क्रमशः रु ५० हजार, रु २० हजार र रु १० हजार प्रदान गरिने छ ।

यस्तै कक्षा ६-८ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा हलेसी तुवाचुङ-२ डिकुवास्थित डिकुवा विद्यालय प्रथम, वडा नं ४ बडहरेको शान्ति आधारभूत विद्यालय दोस्रो र वडा नं ११ राजापानीको हिमगङ्गा आधारभूत विद्यालय तेस्रो भए । उनीहरुले क्रमशः रु ५५ हजार, २५ हजार र १५ हजार पुरस्कार प्रदान गरिने छ । एघार वडा रहेको हलेसी तुवाचुङमा वडा नं ५ दुर्छिमस्थित दामोदरमहासिंह आधारभूत विद्यालय दुर्छिमकी ब्रोलिजा राई प्रथम, हिमगङ्गाका भविन पुरी, बुलापन्थे मावि धितुङकी सुजना राई, बुलापन्थे मावि धितुङकै अनिल कटवाल, लक्ष्मी मावि बडहरेका गणेश दाहाल र महेन्द्रोदय मावि महादेवस्थानका दया राई पहिलो भए । उनीहरुले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्