बिर्तामोड ,जेठ १२ । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा बागी उम्मेदवारी दिने तीनजनालाई नेपाली कांग्रेस झापाले कारवाहीको सिफारिस गरेको छ ।

पार्टी नीतिबिपरित निर्वाचनमा कांग्रेस क्रियाशील सदस्य देबेन्द्र सिटौलाले अध्यक्षमा, प्रदेश क सहसचिव केशवकुमार श्रेष्ठले कोषाध्यक्षमा र क्रियाशील सदस्य बलराम सिटौला (राम)ले सदस्यमा उम्मेद्वारी दिएका छन् । पार्टीका सभापति देउकुमार थेवेले एक विज्ञप्ति जारी गर्दै तीनैजनालाई नेपाली कांग्रेस बिर्तामोड नगर समिति र नेपाली कांग्रेस क्षेत्र नं २, प्रदेश क समितिको सिफारिस अनुसार केन्द्रमा कारवाहीका लागि पठाएको जनाएका छन् ।

उनले यही जेठ १५ गते हुने निर्वाचनमा लोकतान्त्रिक राष्ट्रवादी प्यानलका आधिकारिक उम्मेद्वारलाई अत्यधिक मत दिई विजयी गराउन आग्रह गरेका छन् ।
पार्टीका सभापति थेवेले अध्यक्षमा मेघराज बास्तोला, उपाध्यक्षमा शैलेस सिटौला, सचिवमा पारसमणि मैनाली र कोषाध्यक्षमा शारदा रिजाल प्यानलका आधिकारिक उम्मेद्वार रहेको उल्लेख गरेका छन् । यसैगरी खुल्ला सदस्यमा आनन्द गुरुङ, खगेन्द्रकुमार थापा र महिला सदस्यमा कमला अग्रवाल, बालादेवी खरेल, मायादेवी प्रधान आधिकारिक उम्मेद्वार रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्