झापा , जेठ १४ । सबै प्रकारका विद्यालयहरूले असार १५ गतेभित्र विद्युतीय एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) अद्यावधिक गरिसक्नुपर्ने भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै प्रकार र तह अन्तर्गतका सामुदायिक, संस्थागत र परम्परागत/धार्मिक प्रकृतिका विद्यालयहरूले शैक्षिक सत्र २०८० को लागि सिस्टममा अद्यावधिक गर्न भनेको हो । विद्यालय शिक्षासँग सम्बन्धित तथ्याङ्क र सूचनाहरू वेब बेस्ड सिस्टममा व्यवस्थापन गरी तिनको सङ्कलन, एकीकरण, विश्लेषण, प्रतिवेदन तयारी, प्रवोधीकरण र प्रकाशन गर्दै त्यसको आधारमा योजना निर्माण, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनका कार्यहरू केन्द्रले गर्दै आएको छ । शैक्षिक सत्रको सुरुमा र शैक्षिक सत्रको अन्त्यमा गरी प्रत्येक शैक्षिक सत्रमा दुई पटक अनलाइन अद्यावधिक गर्ने गरिन्छ ।

त्यसरी अद्यावधिक गर्दा मोन्टेरी-ईसीईडी देखि कक्षा १२ सम्म सञ्चालन भएका विद्यालयहरूले आ-आफ्नो विद्यालयको एक्सल बेस्डको आईईएमआईएस अनिवार्य रूपमा अद्यावधिक गर्ने तथा नयाँ विद्यालय भए निर्धारित मिति भित्र स्थानीय तह मार्फत शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट विवरण भर्नुपर्ने केन्द्रले जनाएको छ । कुनै स्थानीय तहभित्र कक्षा ११ र १२ मात्र सञ्चालन गरिरहेका विद्यालयहरूले समेत अनिवार्य रूपमा विवरण अद्यावधिक गर्नुपर्ने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्