झापा, जेठ १४ । पाठ्यक्रम विकास केन्द्रले रद्ध गरिसकेको ओएसिस र आठराई पव्लिकेसनका पाठ्यसामग्रीहरु झापाका विद्यालयहरुले निर्वाध पठनपाठन गराउने गरेका छन् ।

पाठ्यक्रम विकास केन्द्रले ती पव्लिकेसनका पाठ्यसामग्री प्रयोग नगर्न र नगराउन निर्देशन दिएपछि झापाका केही निजी विद्यालयहरुले ती पव्लिकेसनका पुस्तकहरु फिर्ता गरेका थिए भने केही विद्यालयहरुले अटेर गरी नयाँ शैक्षिकसत्रमा समेत प्रयोगमा ल्याएका छन् । कमिशनको प्रलोभनमा परी रद्ध गरिएका पुस्तकहरु विद्यालयहरुले आफ्नो बुकलिस्टमा राखेर विद्यार्थीहरुलाई किन्न बाध्य पारेका हुन् । पाठ्यक्रम विकास केन्द्रको सूचनापछि अर्जुनधारा प्याव्सनले आठराई पव्लिकेसनको कक्षा ५ को रसिलो नेपाली फिर्ता गराएको छ । प्याव्सनले नगरपालिकाका सबै विद्यालयहरुमा सो पाठ्यसामग्री प्रयोगमा ल्याएको थियो । त्यस्तै बुद्धशान्तिको इरा एभर बोर्डिङ स्कूलले पनि ओएसिस पव्लिकेसनको पाठ्यसामग्री फिर्ता पठाएको छ । तर,मेचीनगरको काँकडभिट्टामा रहेको नर्थपोइन्ट अंग्रेजी स्कूल , अर्जुनधारा ५ स्थित ब्राइटर इङ्लिस स्कूलजस्ता निजी विद्यालयहरुले अटेर गरी ओएसिस र आठराई पव्लिकेसनकै रद्ध पुस्तकहरु पठनपाठन गराइरहेका छन् ।

पाठ्यक्रम विकास केन्द्रले गत बैशाख २० गते सूचना जारी गरी ओएसिस पब्लिकेसन प्रा.लि. र आठराई पब्लिकेसन प्रा.लि. काठमाडौंले नयाँ लागु भएको पाठ्यक्रम अनुसारको पाठ्यसामग्री यस केन्द्रमा पेश गरी स्वीकृति पत्र लिएको र यसरी लिएको स्वीकृति पत्रसमेत समावेश गरी पुरानो पाठ्यक्रमअनुसारको सोही कक्षाको सोही विषयको पाठ्यसामग्रीमा संस्करण बर्ष २०८० राख्नुको साथै रिप्रिन्ट २०८० को छाप हानी शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई गुमराहमा पारी पाठ्यसामग्रीहरू बजारमा बिक्रीवितरण गरी विद्यार्थीको भविष्यमा गम्भीर खेलवाड गरेको देखिन आएकोले ती पाठ्यसामग्री प्रकाशन तथा बिक्रीवितरण गर्न यस केन्द्रबाट दिइएको स्वीकृति पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७९ को दफा ३० उपदफा (२) बमोजिम रद्द गरी दुई वर्षसम्म स्वीकृति नदिने र उक्त पाठ्यसामग्री बिक्रीवितरण नगर्न नगराउन तथा बिक्रीवितरण गरिएका त्यस्ता पाठ्यसामग्रीहरु तत्काल फिर्ता गराउन सम्बन्धित प्रकाशकलाई निर्देशन दिने निर्णय गरेको थियो । साथै उक्त पाठ्यसामग्री प्रयोग नगर्न, नगराउन र विक्री वितरणसमेत नगर्नुहुन सम्बन्धित सबैलाई जानकारी गराएको थियो । पाठ्यक्रम विकास केन्द्रले ओएसिस पव्लिकेसनको कक्षा ६ को वन्डर इङ्लिस र इङ्लिस स्कील, कक्षा ७ को वन्डर इङ्लिस र इङ्लिस स्कील, कक्षा ४ को वन्डर इङ्लिस र इङ्लिस स्कील र कक्षा ५ को वन्डर इङ्लिस रद्ध गरेको हो । त्यस्तै आठराई पव्लिकेसनको कक्षा ५ को रसिलो नेपाली पनि रद्ध गरिएको पाठ्यक्रम विकास केन्द्रकी शाखा अधिकृत तारा पाण्डे तिवारीले जनाएकी छन् ।मेचीनगर नगरपालिकाका निजी विद्यालयहरुले रद्ध गरिएका पाठ्यसामग्री पठनपाठन गराइरहेको सम्बन्धमा आफूलाई जानकारी नभएको नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले बताए । उनले नर्थपोइन्टलगायतका त्यस्ता विद्यालयहरुको अनुगमन गरी तत्काल अर्को पव्लिकेसनको पाठ्यसामग्री प्रयोगमा ल्याउन लगाउने जानकारी दिए । त्यस्तै अर्जुनधारा नगरपालिकाका शिक्षा शाखा प्रमुख तोयानाथ रेग्मीले पाठ्यक्रम विकास केन्द्रले रद्ध गरिसकेको पाठ्यसामग्री कुनै पनि हालतमा प्रयोगमा ल्याउन नदिने बताउँदै प्रयोग गरिरहेका विद्यालयहरुलाई तत्काल रिप्लेस गर्न लगाउने बताए । उनले सकेसम्म जनक शिक्षा सामग्री संस्थानकै पाठ्यसामग्रीहरु प्रयोग गर्न आफूहरुले सल्लाह दिने गरेको बताए । त्यस्तै बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले नगरभित्रका कुनै पनि विद्यालयले ती पव्लिकेसनका पाठ्यसामग्री पठनपाठन गराएको जानकारी पाए तत्काल पठनपाठन बन्द गर्न लगाउने बताए । पालिकाभित्रका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय हेर्ने जिम्मेवारी पाएका शिक्षा शाखाहरुको अनुगमनको भूमिका भने खासै रहेको छैन । जुन कुरा पाठ्यक्रम विकास केन्द्रले रद्ध गरिसकेका पाठ्यक्रमको पठनपाठनबाट पुष्टि हुन्छ ।

झापामा ओएसिस पव्लिकेसनको पाठ्यसामग्रीको बिक्रीवितरण गरिरहेका खगेन्द्र गौतमले रद्ध गरिएका पाठ्यसामग्री विद्यालयहरुले फिर्ता पठाइरहेको जानकारी दिएका छन् । पाठ्यसामग्री विकास केन्द्रले बन्देज गरिएको आठराई पव्लिकेसनको कक्षा ५ को रसिलो नेपाली बिक्रीवितरण गरेको पाइएमा प्रकाशकलाई कानुनबमोजिम थप कारवाही हुने चेतावनी दिइसकेको छ । कुनै पनि पव्लिकेसनले आफ्नो पाठ्यसामग्री बिक्रीवतरणका लागि हरेक तीन–तीन वर्षमा पाठ्यक्रम विकास केन्द्रसंग स्वीकृति लिनुपर्ने हुन्छ । तर,ओएसिस र आठराई पव्लिकेसनले रद्ध भइसकेका पुस्तक विद्यालयहरुसंगको मिलेमतोमा अझै बिक्रीवितरण गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्