झापा, जेठ १५ । देशमा गणतन्त्र घोषणा भएको डेढ दशक पूरा भएको छ ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरंकुुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था घोषणा भएको थियो ।

२०६५ सालमा गणतन्त्र र २०७२ सालमा संविधान घोषणा भएपछि देशमा संघीयता कार्यान्वयन भएको छ । तीन तहको सरकारले काम गरिरहेका छन् । सरकारी सेवा सुविधाको लागि जिल्ला सदरमुकाम र काठमाण्डौसम्म धाउनुपर्ने बाध्यता हटेको छ । महिला, दलित, जनजाति लगायत समावेशी प्रतिनिधित्व बढेको छ । तर गणतन्त्रको डेढ दशकमा पनि नागरिकमा निराशा कायमै छ ।
गणतन्त्र स्थापनासँगै नागरिकले देश समृद्धितर्फ अघि बढ्ने अपेक्षा गरे पनि बेरोजगारीको समस्या घट्नुको साटो बढ्दैछ । रोजगारीकै लागि विदेशिने क्रम रोक्न सकिएको छैन । शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रका सूचकमा देश कमजोर छ । सुशासनको खस्कँदो अवस्थाले दल र नेताप्रति वितृष्णा बढाएको छ । सरकारका उच्च पदस्थ कर्मचारी, मन्त्री, उपप्रधानमन्त्रीलगायत नै भ्रष्टाचार र अनियमिततामा संलग्न भएको घटना सार्वजनिक भैरहँदा नागरिकमा आक्रोश र असन्तुष्टि बढाएको छ । गरिखाने वर्गलाई अझै हातमुख जोड्न धौ–धौ भइरहेकै छ । कतिपय गाउँठाउँमा सामान्य रोगको समेत उपचार नपाएर ज्यान गुमाउनुपर्ने स्थिति छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेताहरुले गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै नागरिकमा छाएको निराशा सबै मिलेर हटाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्