झापा , जेठ १५ । मलेसियाविरुद्ध भइरहेको ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पाँच खेलमध्ये पहिलो खेलमा नेपालको महिला क्रिकेट टोली सोमबार ५ विकेटले पराजित भएको छ ।

नेपाल ट्वान्टी-२० अन्तर्राष्ट्रियमा मलेसियासँग पहिलो पटक पराजित भएको हो । क्वालालम्पुरस्थित वाईएसडी-यूकेएम ओवलमा मलेसियाले टस जितेपछि ब्याटिङमा आएको नेपाल १६.५ ओभरमा ५० रनमै अलआउट भयो । ज्योति पाण्डेले ११ र सम्झना खड्काले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । डेब्यु गरिरहेकी सम्झनाले २५ बल खेल्दै १ चौका प्रहार गरिन् । ज्योतिले १७ बल खेल्दै २ चौका प्रहार गरिन् । यो बाहेक नेपालबाट चौका प्रहार गर्ने खेलाडी ओपनर काजोल श्रेष्ठमात्र थिइन् । उनले ६ रन जोडिन् । अर्की ओपनर सीता रानामगर आफूले सामना गरेको पहिलो बलमै आउट भइन् । इन्दु वर्मा ३, कप्तान रुविना क्षेत्री २, कविता कुँवर र अप्सरी बेगम शून्य, कविता जोशी १, अस्मिना कर्माचार्य ३ रनमा आउट भइन् । निक एटिइलाले ३ विकेट लिइन् । प्लेयर अफ द म्याच उनले ४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चिइन् । एइना हसिम, एइसा फिर्दाउज र माहिराह इस्माइलीले २-२ विकेट लिइन् । एइनाले ३.५ ओभरमा १०, एइसाले २ ओभरमा ९ र माहिराहले ४ ओभरमा ३ रनमात्र खर्चेकी थिइन् । मलेसियाले १३.२ ओभरमा लक्ष्य पूरा गर्‍यो । वान जुलिया रोस्दीले १३ र एइनाले अविजित १२ रन बनाइन् । नेपालबाट रुविना र सीताले २-२ तथा कविता कुँवरले १ विकेट लिइन् । शृंखलाको दोस्रो खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्