बिर्तामोड, जेठ १५ । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको मतगणना शुरु भएको छ ।

केहीबेर अघिबाट मतणना शुरु भएको हो । सोमवार बिहान ८ बजे शुरु हुने मतदानको समय बेलुका ५ बजेसम्मका लागि तोकिएको थियो । खानेपानीमा ८ हजार ७५४ जना मतदाता रहेकोमा ३ हजार ७६४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।निर्वाचनमा ९ पदमा २० जनाले प्रतिष्पर्धा गरेका छन् ।

नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त प्यानल लोकतान्त्रिक– राष्ट्रवादी समूहबाट अध्यक्ष,उपाध्यक्ष , सचिव र कोषाध्यक्षसहित ९ जना उम्मेदवार छन् । त्यस प्यानलमा अध्यक्ष , उपाध्यक्ष , सचिव , एउटा खुल्ला सदस्य र तीन वटा महिला सदस्य कांग्रेसले पाएको छ भने राप्रपाको भागमा कोषाध्यक्ष र एउटा खुल्ला सदस्य परेको छ ।कांग्रेसका तर्फबाट अध्यक्षमा मेघराज बास्तोला , उपाध्यक्ष शैलेन्द्र सिटौला , सचिव पारस मैनाली , खुल्ला सदस्यमा आनन्द गुरुङ, महिला सदस्यमा बालादेवी खरेल , माया प्रधान खड्गी र कमला अग्रवालले उम्मेदवारी दिएका छन् भने राप्रपाको तर्फबाट कोषाध्यक्षमा शारदा रिजाल र खुल्ला सदस्यमा खगेन्द्र थापाको उम्मेदवारी परेको हो ।

त्यस्तै नेकपा एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त गठबन्धन बनाई देवेन्द्र सिटौलालाई अध्यक्षको उम्मेदवार बनाएका छन् । स्वतन्त्र प्रगतिशील समूह नाम दिइएको त्यस प्यानलबाट अध्यक्षमा देवेन्द्र सिटौला, उपाध्यक्षमा प्रदीप खरेल,सचिव विष्णुप्रसाद चुडाल ,कोषाध्यक्षमा विनिता राजवंशीले उम्मेद्वारी दिएका हुन् ।

त्यस्तै समितिको खुला सदस्यहरुमा छत्रबहादुर श्रेष्ठ र सुनिल शिवाकोटी तथा महिला सदस्यहरुमा तारा राई, पुनम अधिकारी सुब्बा र सीमा सिलवाल ढुंगानाले उम्मेद्वारी दिएका छन् । अध्यक्षका उम्मेदवार सिटौलाले कांग्रेस छाडेर एमाले , माओवादी केन्द्र र जसपाको गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका हुन् । त्यस प्यानलमा एमालेले उपाध्यक्षसहित चार सदस्य पाएको छ भने माओवादीले सचिव र एक सदस्य पाएको छ । जसपाको भागमा भने कोषाध्यक्ष परेको छ ।

दुईवटा प्यानलबाहेक अन्य दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा केशवकुमार श्रेष्ठ तथा खुल्ला सदस्यमा बलराम सिटौला(राम)ले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्