झापा, जेठ १६ । क्षितिज नाट्य प्रतिष्ठानको ब्यानरमा नेपाली कथानक चलचित्र आयु निर्माण हुने भएको छ ।

विद्यालय स्तरका किशोरकिशोरीको बिषयवस्तुमा आधारित समयसापेक्ष चलचित्रलाई मंगलवार झापाको पर्यटकीयस्थल दोमुखा माइधारमा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष माधब कल्पितले पुजापाठसहित नरिवल फुटाएर शुभमुहुर्त गरेका छन् ।

प्रतिष्ठानका केन्द्रीय सदस्य तथा नाट्य विभाग प्रमुख गजेन्द्र पृथकको लेखन÷ निर्देशन रहेको चलचित्रमा राष्ट्रिय कलाकारहरु शारदा गिरी(काली बुडी) सुरवीर पण्डित (दारी बा), सामना सिटौला, भरत गुरागाई तथा प्रतिष्ठानका कलाकारहरु माधब कल्पित , सबिता रेग्मी , माधब सिटौला , गजेन्द्र पृथक ,हरिप्रसाद भण्डारी ,माया सिटौला , गंगा प्रसाई ,ई. समिन खतिवडा ,राजु खरेल,रतन सिगु, महेन्द्र सिटौला ,बालकलाकार प्रोग्रेस खतिवडा र अशिम कार्की लगायतका कलाकारहरुको भूमिका रहेको छ । प्रेम भण्डारीको छायांकन र पारु खतिवडाको श्रृङ्गार रहने चलचित्र झापाको माइधार,बनियानी,कचनकवल, दोमुखा, चेप्टी तथा इलामको कन्याम,पशुपतिनगर,श्रीअन्तुलगायतका स्थानहरुमा छायांकन गरिने निर्देशक गजेन्द्र पृथकले जानकारी दिएका छन् ।

झापाको बिर्तामोडमा निर्माणाधीन अबस्थामा रहेको प्रदेश न.१कै पहिलो बहुजातीय साँस्कृतिक संग्रहालयसहितको झापा नाटकघर निर्माण सहयोगार्थ स्रोत संकलन गर्ने उद्देश्यका साथ प्रतिष्ठाका कलाकारहरुको आन्तरिक लगानीमा निर्माण भइरहेको चलचित्र करिव ५० लाखको लगानीमा सम्पन्न हुने गरि छायांकन सुरु गरिएको प्रतिष्ठानकी केन्द्रीय संरक्षक तथा कलाकार माया सिटौलाले जानकारी दिएकी छन् । प्रतिष्ठानका कलाकारहरुद्वारा यसअघि निर्मित टेलिश्रृंखला बिहानी र कुरा अर्को छ नेपाल टेलिभिजन , सूर्याेदय टेलिभिजन र हिमशिखर टेलिभिजनबाट अपार सफलताका साथ प्रसारण भइसकेको र पछिल्लो समय निर्माण कार्यमा केन्द्रीकृत रहँदा ओझेल परेको छायांकन क्षेत्रलाई निरन्तरता दिने उद्देश्यका साथ आयु चलचित्र प्रारम्भ गरिएको प्रतिष्ठानका परिकल्पनाकार तथा केन्द्रीय अध्यक्ष माधब कल्पितले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्