बिर्तामोड, जेठ १७ । झापाको बिर्तामोडमा प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी केन्द्रीय समितिले जेठ २७ र २८ गते सो प्रतियोगिता गर्न लागेको हो ।

बुधवार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिइएको हो । एकेडेमीका उपमहासचिव तथा पूर्वप्रमुख कराते प्रशिक्षक मदन उप्रेतीले प्रतियोगितामा आठवटा टिमको सहभागिता रहने बताए । आयोजकको एउटा तथा सात प्रदेशका टिम प्रतियोगितामा सहभागी हुने छन् । त्यस्तै, महिलाहरुको ९ इभेन्ट र पुरुषहरुको १० इभेन्ट गरी १९ वटा इभेन्टमा खेल हुने एकेडेमीका कोशी प्रदेश इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष तुलसी मैनालीले बताए ।

प्रतियोगितामा कातासहित महिलातर्फ ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६१ केजी र ६१ केजीभन्दा माथिका इभेन्ट हुने छन् । पुरुषतर्फ कातासहित ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका इभेन्ट हुने छन् ।

प्रतियोगितामा प्रत्येक इभेन्टको स्वर्ण पदक प्राप्त गर्ने खेलाडीले नगद १० हजार, रजत पदकले ७ हजार र कास्य पदक पाउने दुई खेलाडीले ४–४ हजार, मेडल तथा प्रमाणपत्र पाउने छन् ।
त्यस्तै, उत्कृष्ट एक महिला र एक पुरुष तथा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई ट्रफी प्रदान गरिने उप्रेतीले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगितामा खेलाडी तथा अफिसियल गरी २०० जनाको सहभागिता रहने मैनालीले बताए ।पत्रकार सम्मेलनमा मदन भण्डारी फाउन्डेसनका जिल्ला अध्यक्ष हरिचरण शिवाकोटीले प्रतियोगिता सफल रुपमा सम्पन्न गराउन सबैसंग सहयोगको आव्हान गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्