झापा, जेठ १८ । आर्थिक तरलताका कारण ऋण असुलीमा असहजता भएपछि झापाका सहकारी संस्थाहरुले व्याजमा छुट दिने भएका छन् ।

सहकारी संस्था पनि चल्ने र ऋणी सदस्यलाई ऋण तिर्न सजिलो हुनेगरी व्याज र हर्जानामा छुट दिन लागिएको जिल्लाका सहकारीहरुले जनाएका छन् ।

झापा जिल्ला सहकारी संघ ,जिल्ला बचत तथा ऋण सहकारी संघ र जिल्ला कृषि सहकारी संघद्वारा सहकारीको विद्यमान अबस्था , समस्या र चुनौती विषयमा संचारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले ऋण असुलीलाई सहज बनाउन सदस्यहरुलाई व्याजमा केही छुट दिने नीति ल्याउन लागेको जानकारी दिए ।‘कोरोना कालमा सहकारीहरुले व्याजमा छुट दिएका थिए ’ उनले भने,‘ अहिले तरलताको अभावमा पनि हामी सदस्यहरुको समस्या बुझ्न हामी तयार छौं ।’ उनले झापाका सहकारीहरुमा पनि ऋण असुलीमा समस्या देखिएको बताउँदै कसैको उक्साहटमा नलाग्न सदस्यहरुलाई आग्रह गरे । यतिबेला आमरुपमा सहकारी र लघुवित्तमा देखिएको समस्याको छिटा झापामा पनि परेको बताउँदै उनले सहकारीहरुलाई जोगाउन अभियान जारी रहेको जानकारी दिए । अभियानका क्रममा आफै ऋण लगेका सहकारीका संचालकहरुलाई गाडी , जग्गा बेचेर भएपनि ऋण तिर्न लगाएको उनले सुनाए । सहकारीका संचालक र कर्मचारीको गल्तीका कारण पनि सहकारी संस्थाप्रतिको विश्वास घटेको उनले स्वीकार गरे ।

कार्यक्रममा बोल्दै झापा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका संचालक महेन्द्र गिरीले एउटा सहकारीले गल्ती गर्दैमा सबै सहकारीहरु भाग्ने सहकारीहरु हुन् भन्ने भ्रम नफैलाउन आग्रह गरे ।उनले सहकारीहरुले सदस्य र समुदायको लागि गरेको सहयोग उल्लेखनीय रहेको बताए । कार्यक्रममा नेपस्कुनका केन्द्रीय सदस्य घनश्याम अधिकारी, केन्द्रीय चिया सहकारी संघका अध्यक्ष हर्कबहादुर तामाङ, नेपाल केन्द्रीय कृषि सहकारी संघका उपाध्यक्ष मीना ढकाल,नेपस्कुनका जिल्ला अध्यक्ष तुलाराम न्यौपानेलगायतले सहकारीको विद्यमान अवस्था, समस्या र चुनौतीका बारेमा बोलेका थिए । कार्यक्रमको संचालन झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगालले गरेका थिए ।कार्यक्रममा झापा जिल्ला सहकारी संघका तर्फबाट अर्जुन दंगाल र बचत तथा ऋण सहकारी सङ्घका तर्फबाट कमलकुमार घिमिरेले आफ्नो प्रस्तुति राखेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्