झापा , जेठ १८ । दक्षिण अफ्रिकामा १५० जना नेपाली मानव बेचबिखन तथा गैरकानूनी आप्रवासनमा संलग्न गिरोहमा फन्दामा परेका छन् ।

आकर्षक जागिर तथा तलबको प्रलोभन देखाउँदै नक्कली वर्क परमिट बनाई उनीहरूलाई आफ्नो फन्दामा पारेका हुन् । उक्त गिरोहले ती नेपालीहरूबाट लाखौं रुपैयाँ असुल गरेका छन् । लाखौं रुपैयाँ माग गर्ने र नदिएको खण्डमा ज्यान मार्ने धम्की दिने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । अझै पनि सामाजिक सञ्जालमा भ्रमपूर्ण विज्ञापन सम्प्रेषण भएर रोजगारीमा आउन प्रेरित गर्दै आएको भन्दै विभागले सचेत रहन सबैमा आग्रह गरेको छ । दक्षिण अफ्रिका जान चाहने नेपालीलाई देहाय बमोजिमको कुरामा ध्यान दिन विभागले अनुरोध गरेको छ ।

१. दक्षिण अफ्रिकाको सरकारी राजपत्रमा २ अगष्ट २०२२ मा प्रकाशित सूचना अनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने १४० किसिमको दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारमा लिने कानुनी व्यवस्था रहेको र त्यस्ता पदहरुमा वैदेशिक रोजगारमा दक्षिण अफ्रिका जाँदा नेपाल सरकारको प्रचलित कानुन बमोजिम श्रम स्वीकृति लिएर मात्र जानु पर्नेछ उक्त पदहरुको सूची http://wwcer dhagat.za/image/ 20/47182-Critic.pdf मा लिङ्गमा उपलब्ध रहेको छ । 

२. भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त (High Commission)  र कन्सुलेट जनरल (Consulate General)  बाट जारी हुने पर्यटक भिसा पर्यटन भ्रमण दक्षिण अफ्रिका आउने प्रयोजनको लागि मात्र भएको हुँदा सो भिसाका आधारमा यहाँ रोजगारीजन्य काममा संलग्न हुन पाइने छैन । पर्यटक भिसामा आई कुनै पनि किसिमको रोजगारीमा संलग्न हुने कार्य गैरकानूनी भएकाले त्यस्तो कार्यमा संलग्न व्यक्तिहरुलाई सम्बन्धित दक्षिण अफ्रिकी निकायले पक्राउ गरी कानुन बमोजिम दण्ड जरिवाना गराई वा थुनामा राखी देश निकाला (Geportation) गर्नेछ ।

३. कुनै पनि मुलुक जानको लागि सम्बन्धित मुलुकको भिसा आवश्यक पर्ने हुँदा दक्षिण अफ्रिकाबाट युरोप, अमेरिका लगायतका देशहरुमा जान सजिलो हुने कुरा भ्रामक र मिथ्या भएकाले भिसा सम्बन्धी जानकारीका लागि सम्बन्धित देशको नियोग या ती मुलुकहरु हेर्ने विदेशस्थित नेपाली नियोगहरूमा सम्पर्क गरी आधिकारिक जानकारी लिन उपयुक्त हुने सम्बन्धित सबैको जानकारीको लागि विभाग हार्दिक अनुरोध गर्दछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्