झापा , जेठ १८ । अत्यधिक गर्मीका कारण कोशी प्रदेशका दुई तराईका जिल्ला सुनसरी र मोरङका स्थानीय पालिकाले केही दिनका लागि विद्यालय बन्द गरेका छन् ।

केहीदिन देखि पूर्वी तराईको मौसरम दैनिक सरदर ४० डिग्री तापक्रम कायम रहेकाले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर विराटनगर महानगरपालिका सहित सुनसरीको इटहरी उपमहानगर र इनरुवा नगरपालिकाले बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने निणर्य गरेका छन् । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका अनुसार यो वर्ष वैशाखमा सबैभन्दा बढी ४० दशमलव ५ डिग्री सेल्सियस तापक्रम थियो । कार्यालय प्रमुख विकास देउजाका अनुसार जेठमा दैनिक सरदर ३९ डिग्री सेल्सियस तापक्रम छ । प्रचण्ड गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने स्थिति देखिएकाले बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने निणर्य गरिएको विराटनगर महानगरपालिकाले जनाएको छ । महानगरले पूर्वनिर्धारित परीक्षाका कार्यक्रमलाई भने यथावत राखेको छ । त्यसैगरी, इटहरी उपमहानगरले पनि दुई दिन विद्यालय बन्द गर्ने निणर्य गरेको शिक्षा शाखा प्रमुख सूर्य सुवेदीले बताए । बर्खे बिदामा समायोजन गर्ने गरी दुई दिन विद्यालय बिदा गरिएको हो । सुवेदीले भने, ’मौसममा सुधार नआए बिदा थप गर्न सकिन्छ ।’ सुनसरीकै इनरुवा नगरपालिकाले भने बिहीबारदेखि एक साताका लागि विद्यालय बन्द गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्