बिर्तामोड, जेठ १८ । ग्रेस इन्टरनेशनलले झापाको बिर्तामोडदेखि बुटवलसम्म द रोड अहेड कार्यक्रम संचालन गर्ने भएको छ ।

विभिन्न क्षेत्रका व्यक्तित्वहरुद्वारा ग्रेस इन्टरनेशनलले बिर्तामोडदेखि बुटवलसम्मका विभिन्न ठाउँहरुमा सेमिनार संचालन गर्ने भएको हो । यसक्रममा जेठ २० गते बिर्तामोडमा सेमिनार गरिने भएको ग्रेस इन्टरनेशनल बिर्तामोड शाखाले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । जेठ २० गते बिर्तामोड, २१ गते दमक , २२ गते विराटनगर गर्दै क्रमशः अन्य ठाउँहरुमा कार्यक्रम गर्दै जाने ग्रेस इन्टरनेशनल बिर्तामोड शाखाकी संचालिका सुमी विष्टले बताइन् । उनले सेमिनारमा विभिन्न क्षेत्रका ९ जना विज्ञले काउन्सिलिङ गर्ने जानकारी दिइन् ।

सेमिनारमा अनिल केशरी क्षेत्री , एन्ड्रु पौडेल, सौरभ लोहनी ,राधाकृष्ण धिताल, विकास गुरुङ, दिलिपकुमार राजवंशी , सुरक्षा पन्त , रिमा विश्वकर्मा र कैलाश कार्कीले प्रस्तुती दिने अर्की संचालिका विद्या प्रसाईले बताइन् । उनले विद्यार्थीहरुलाई लक्षित गरी बिर्तामोडको सिटी सेन्टरमा आयोजना गरिएको कार्यक्रममा अन्य पेशा र क्षेत्रका मानिसहरु पनि निःशुल्क रुपमा सहभागी हुन पाउने जानकारी दिइन् । कार्यक्रममा व्यक्तित्व विकास , उदीयमान प्रवृति, औद्योगिक माग, सार्वजनिक सेवामा करियर निर्माणलगायतका विषयमा सहजकर्ताहरुले सहजीकरण गर्ने झापा इभेन्टसका प्रोजेक्ट मेनेजर सुमन खत्रीले बताए । उनले यति धेरै विज्ञहरुलाई पहिलो पटक एक ठाउँमा भेला गरिएकाले त्यस अवसरको सदुपयोग गर्न आव्हान गरेका छन् । डुरहाम कलेजको सहकार्य रहेको कार्यक्रमको सहयोगीहरुमा झापा इभेन्टस , इन्टरटेनमेन्ट , प्रतिदिन दैनिक र सूर्योदय टेलिभिजन रहेका छन् ।ग्रेस इन्टरनेसनलले शैक्षिक परामर्शको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्