भद्रपुर, जेठ १८ । कोशी प्रदेशमै पहिलो पटक भद्रपुरमा युवा सम्मेलन सुरू भएको छ ।


‘स्थानीय विकासमा युवा सहभागिता सवल नेतृत्व विकास, प्रविधि र उद्यमशीलता’ भन्ने मूल नाराका साथ भद्रपुरमा प्रथम नगर सम्मेलन सुरू भएको हो ।
भद्रपुर नगर युवा परिषद्को आयोजनामा जेठ १८ र १९ गते गरी दुई दिनसम्म चल्लने भद्रपुर प्रथम नगर सम्मेलनको उद्घाटन राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले गरेका थिए ।
नगर सम्मेलनको औचित्यमाथि प्रकाश पार्दै नगर प्रमुख गणेश पोखरेलले युवाहरूको नेतृत्व विकास, परिचालन, सशक्तीकरण र स्थानीय विकासमा सहभागिताका लागि सकारात्मक उत्प्रेरणा प्रदान गर्ने बताए । प्रमुख पोखरेलले युवाहरूमा सामाजिक तथा सामुदायिक दायित्व बहनको भावनाको विकास गर्ने, जीवनोपयोगी सीपको विकास गरी जीवनलाई उपयोगी र व्यवहारिक धारणासहित जिउन उत्प्रेरित गर्ने बताउँदै नेतृत्व सीपको विकास गर्ने, सक्षम नेतृत्व विकासमा सहयोग गर्ने र दिगो विकासको स्थानीयकरणमा सहयोग गर्ने उद्देश्य रहेको प्रष्ट पारेका छन् ।
दुई दिनसम्म चल्ने कार्यक्रममा सम्बन्धित विषयका विशेषज्ञहरू वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुन, पत्रकार टीकाराम यात्री, कवि नवराज पराजुली, दयासागर श्रेष्ठ, महेश दाहाल, सोनिका पौडेल, राहुल केसी, बसन्त अधिकारी, प्रदीप पौडेल, माधव ढुंगेललगायतले युवा नेतृत्व विकास, उद्यमशीलता, जीवनोपयोगी सीप, सकारात्मक सोच, मिडिया तथा डिजिटाइजेसन, दिगो विकास लक्ष्य, सुरक्षित आवास सहर, युवा प्रतिभा प्रस्तुतीकरण तथा सम्मान, लागूपदार्थ दुव्र्यसनी न्यूनीकरण, सुशासन लगायतका विषयमा सहजीकरण गर्ने जनाइएको छ ।
नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा युवा परिषद भद्रपुरका कार्यकारी उपाध्यक्ष सरोज ढकालले स्वागत गरेका थिए भने परिषदका नगर सदस्य सचिव योगेन्द्र पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए । युवा भेलामा भद्रपुर नगरपालिका क्षेत्रका विभिन्न विधाबाट १६ देखि ४० वर्षसम्मका दुई सय जना सहभागी भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्