झापा, जेठ १९ । पाठ्यक्रम विकास केन्द्रले रद्ध गरिसकेको ओएसिस पव्लिकेसनको पाठ्यसामग्री मेचीनगर ६ काँकडभिट्टास्थित नर्थपोइन्ट इङ्लिस बोर्डिङ स्कूलले फिर्ता गरेको छ ।

रद्ध गरिएको ओएसिस र आठराई पव्लिकेसनको पाठ्यसामग्री पठनपाठन नगराइ फिर्ता गर्न मेचीनगर नगरपालिकाले निर्देशन दिएको थियो ।आफूहरुले कक्षा ७ र ८ मा ओएसिस पव्लिकेसनको वन्डर इङ्लिस प्रयोग गरेकोमा रद्ध गरिएको सूचना प्राप्त गरेपछि ती पाठ्यसामग्री फिर्ता गरेको विद्यालयका संस्थापक प्रिन्सिपल हरि अधिकारीले बताए । उनले ओएसिसको सट्टा टाइम पव्लिकेसनको पाठ्यपुस्तक पठनपाठनमा ल्याएको जानकारी दिए ।

पाठ्यक्रम विकास केन्द्रले ओएसिस र आठराई पव्लिकेसनका पाठ्यसामग्री प्रयोग नगर्न र नगराउन निर्देशन दिएपछि झापाका केही निजी विद्यालयहरुले ती पव्लिकेसनका पुस्तकहरु फिर्ता गरेका थिए भने केही विद्यालयहरुले अटेर गरी नयाँ शैक्षिकसत्रमा समेत प्रयोगमा ल्याइरहेका छन् । कमिशनको प्रलोभनमा परी रद्ध गरिएका पुस्तकहरु विद्यालयहरुले आफ्नो बुकलिस्टमा राखेर विद्यार्थीहरुलाई किन्न बाध्य पारेका हुन् ।

पाठ्यक्रम विकास केन्द्रले ओएसिस पव्लिकेसनको कक्षा ६ को वन्डर इङ्लिस र इङ्लिस स्कील, कक्षा ७ को वन्डर इङ्लिस र इङ्लिस स्कील, कक्षा ४ को वन्डर इङ्लिस र इङ्लिस स्कील र कक्षा ५ को वन्डर इङ्लिस रद्ध गरेको हो । त्यस्तै आठराई पव्लिकेसनको कक्षा ५ को रसिलो नेपाली पनि रद्ध गरिएको पाठ्यक्रम विकास केन्द्रकी शाखा अधिकृत तारा पाण्डे तिवारीले जनाएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्