एजेन्सी । अन्तर्राष्ट्रिय समुदायसँग आफ्नो सरकारलाई मान्यता दिन र सहयोग गर्न बारम्बार आह्वान गरिरहेको तालिवान शासनले अफगान महिला र केटीहरूमाथिको दमन बढाइरहेको छ ।

’तालिवानका दमनकारी एवम् गैरजिम्मेवारपूणर् गतिविधिले विकासका निम्ति अन्तरराष्ट्रिय जगतसँग संलग्न हुन र साझेदारी गर्न इच्छा नदेखाएको संकेत गर्छ’, ह्युमन राइट्स वाचका महिला अधिकार निर्देशकलाई उद्धृत गर्दै खामा प्रेसले जनाएको छ। अफगानिस्तानका कार्यवाहक उपप्रधानमन्त्री मुल्लाह हसन अखुन्दजादाले आफ्नो कतारी समकक्षीसँगको भेटमा कतारी अधिकारीहरूलाई अफगानिस्तान र अन्तरराष्ट्रिय समुदायबीच विश्वासको वातावरण बनाउन महत्वपूणर् भूमिका निर्वाहका लागि आग्रह गरेका थिए। तालिवानका एकजना प्रवक्ताले तालिवानसँग कतारको बलियो सम्बन्ध रहेको तर महिलाप्रतिको नीतिलाई लिएर दोहाले काबुलको आलोचना गरेको बताएका थिए । उनले अफगानिस्तानको सत्ता कब्जा गरेदेखि, तालिवान नेतृत्वले लगातार अफगान महिला र केटीहरूको शिक्षा र रोजगारीमा पहुँच प्रतिबन्ध लगाउने कडा आदेश जारी गरेकामा कतारले आलोचना गरेको खामा प्रेसले बताएको छ । कलेज र स्कुलमा छात्रालाई निषेध गरिएपछि हजारौँ महिला घरमै बसेका छन् भने स्थानीय र अन्तरराष्ट्रिय गैरसरकारी संस्थामा महिलालाई काममा प्रतिबन्ध लगाइएको छ। यद्यपि केही महिलाले विद्रोह गरेर व्यापार वा अन्य व्यावसायिक प्रयास थालेका छन्।



