झापा, जेठ २० । भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु भएको छ ।

भारतीय समाचार संस्थाहरूका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए ।
एनडीटीभी र आजतकका अनुसार दुर्घटनामा २३३ जनाको मृत्यु भएको छ भने करिब ९ सय जना घाइते भएका छन् । दुर्घटना शुक्रबार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजार स्टेसननजिकै भएको हो ।

भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् । उनले ट्विट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै सरकारका तर्फबाट मृतकका परिवारलाई १०÷१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् । त्यस्तै उपचारका लागि गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने पनि उनको घोषणा छ।

शुक्रबार साँझदेखि नै उद्धार र राहत कार्य तीव्र बनाइएको पनि भारतीय अधिकारीहरूले जनाएका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार पल्टिएका रेलका बग्गीले यात्रु थिचिएका थिए । उद्धारका लागि घटनास्थलमा १०० भन्दा बढी एम्बुलेन्स र ५० भन्दा बढी बस परिचालन गरिएको छ ।
भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्