झापा , जेठ २० । जिल्ला वन कार्यालय इलामबाट बिक्री आदेश नदिएको काठ उपभोक्तालाई बिक्री गरेको आरोपमा झापाको शिवसताक्षी-१० मा रहेको गैडे सामुदायिक वन उपभोक्ता समूहका तीनजना पदाधिकारी पक्राउ परेका छन् ।

सव डिभिजन कार्यालय चुलाचुली इलामबाट खटिएको टोलीले गैडे सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष राम लावती, सचिव कुमारी फागो योङया र कोषाध्यक्ष रविन न्यौपानेलाई पक्राउ गरेको हो। पक्राउ परेका तीनैजनालाई सव डिभिजन वन कार्यालय चुलाचुली इलाममा अनुसन्धानका लागि राखिएको कार्यालय प्रमुख सत्यराम प्रजापतिले बताए । जिल्ला वन कार्यालय इलामबाट बिक्री आदेश नदिएको काठ उपभोक्तालाई बिक्री गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको उनले बताए। वन कार्यालयले छप्पान आदेश दिनुपर्ने, त्यसपछि टुनटुना, चिरान आदेश दिनुपर्ने र यी सबै प्रकृया पूरा गरेपछि बिक्री आदेश र छुटपुर्जी वन कार्यालयबाट लिनुपर्ने भए पनि गैडे सामुदायिक वन उपभोक्ता समूहका तीनजना पदाधिकारीले बिक्री र छुटपुर्जी आदेश नलिई काठ बिक्री गरेको पाइएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको कार्यालय प्रमुख प्रजापतिले बताए ।

पक्राउ परेका पदाधिकारीसँगै वन कार्यालयको टोलीले को १ च ७५०५ नम्बरको बोलेरो जिप र २६.६२ क्युफिट चिरान काठ पनि बरामद गरेको उनले जानकारी दिए । वन कार्यालयले साखु जातको सुख्खा रुख कटानको आदेश दिएको तर बरामद भएको काठ साखुजस्तो नदेखिएकाले पक्राउ परेका सबैलाई अनुसन्धानका लागि राखिने प्रजापतिले बताए । गैडे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नरबहादुर थपलिया माई नगरपालिकाको नेतृत्वमा पश्चिम नेपालको भ्रमणमा रहेको र उनी आएपछि नियन्त्रणमा लिइने जिल्ला वन कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्