एजेन्सी । भारतको ओडिसामा रेल दुर्घटना हुँदा कम्तीमा दुई सय ८० जनाको निधन भएको छ ।

ओडिसाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी नौ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । घटना शुक्रबार राति भएको थियो । घाइतेको उद्धारका लागि दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको ओडिसाको प्रमुख सचिव प्रदीप जेनाले बताएका छन् । उक्त घटना भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको एक भएको समाचारमा जनाइएको छ । स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन् । घटनाको अनुसन्धान गर्न एक समिति गठन गरिएको छ । समितिले काम सुरु गरिसकेको केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णव जानकारी दिएका छन् । ओडिसाका मुख्यमन्त्री नवीन पटनायकले रेल दुर्घटनापछि राज्य दिवस मनाउने कार्यक्रम रद्द गर्दै एक दिने राजकीय शोकको घोषणा गरेका छन् । रेल दुर्घटनाको विषयमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जी आज ओडिशाको भ्रमण गर्न लागेकी छन् । रेलवेको खड़गपुर डिभिजनका डीआरएमका अनुसार रेल दुर्घटनापछि कम्तीमा १३ वटा ट्रेन डाइभर्ट गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्