कुमरखोद, जेठ २१ । झापा गाउँपालिकाले आफ्ना पालिकाभित्र रहेका जेष्ठ र एकल पुरुषहरुलाई सम्मान गरेको छ ।

वडा नं ६ मा रहेको जेष्ठ नागरिक भवनमा आईतवार एक कार्यक्रम गरी जनही नगद ६ हजारसहित उनीहरुलाई सम्मान गरिएको हो । ८४ वर्षभन्दा माथि उमेर पुगेका जेष्ठ तथा ६० वर्षभन्दा माथि र ६८ वर्षभन्दा मुनिका एकल पुरुषलाई नगदसहित सम्मान गरिएको झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताए । अध्यक्ष शाहले नेपाल सरकारले ६० देखि ६८ वर्ष मुनिका एकल पुरुषलाई भत्ता उपलब्ध नगराएकोले आफ्नो पालिकाले फलफूल र औषधी खानका लागि प्रोत्साहनसहित ६ हजार रुपैयाँ उपलब्ध गराएको बताए ।

झापा गाउँपालिकाले आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रममा समावेश गरी १२ लाख बजेट जेष्ठ नागरिकको लागि छुट्याएको छ । आगामी वर्षमा जेष्ठ नागरिकहरुलाई नेपालको विभिन्न धार्मिक स्थलहरुमा लगेर तिर्थयात्रा गराउने योजना रहेको अध्यक्ष शाहले बताए । पालिकाभरि ८४ वर्षभन्दा माथिका १७१ जना जेष्ठ पुरुष र ६० देखि ६८ वर्षसम्मका ५० वढी एकल पुरुष रहेको गाउँपालिका उपाध्यक्ष अन्जुदेवी थपलियाले बताईन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्