झापा, जेठ २२ । ५० औं विश्व वातावरण दिवसको अवसर पारेर बिर्तामोडमा विविध कार्यक्रम आयोजना गरिएको छ ।

सचेतनामूलक साइकल र्याली ,बृक्षरोपणलगायतका कार्यक्रम गरिएको हो । बिर्तामोड नगरपालिकालाई सुन्दर,सफा, स्वच्छ, हरियाली र प्लाष्टिकमुक्त क्षेत्र बनाउन न्यूटन्स् बाल क्लबको आह्वानमा सचेतनामूलक साइकल र्याली निकालिएको थियो ।बिर्तामोड परिक्रमापश्चात् बिर्तामोड नगरपालिकाको कार्यालय अगाडि र्याली सभामा परिणत भएको थियो ।
न्यूटन्स् बाल क्लबका सचिव संस्कार भट्टराईको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि संग्रौला ,शिक्षा शाखा प्रमुख तिलचन भण्डारीलगायतले विश्व वातावरण दिवसको महत्वका बारेमा प्रकाश पारेका थिए । बाल क्लबका फोकल पर्सन मिनु शिवाकोटीले संचालन गरेको कार्यक्रममा प्रधानाध्यापक देवेन्द्र हुमागाईंले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यका बारेमा प्रकाश पारेका थिए ।

त्यस्तै वातावरण दिवसको अवसरमा प्रथम बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड ४ ले वृक्षरोपण गरेको छ । बिर्तामोड ३ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालय अगाडि १० वटा सिरिसको बिरुवा रोपिएको हो । बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिरुवा रोपेर बृक्षरोपण कार्यक्रमको शुभारम्भ गरेकी थिइुन् । आयोजक संस्थाका अध्यक्ष टीकाराम पाण्डेको अध्यक्षता तथा नगर प्रमुख प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने , बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकी , ४ का वडाध्यक्ष राहुल शर्मालगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन अर्जुन चम्लागाँईले गरेका थिए । आजबाट बृक्षरोपण कार्यक्रमको शुरुवात गरिएको र अब नियमित रुपमा बिरुवा रोप्दै जाने कार्यक्रम संयोजक संजय पौड्यालले बताए ।

संयुक्त राष्ट्रसंघको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्रसंघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ ।
नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम गर्दै आ–आफ्नो स्थानबाट यस दिवस भव्य र सभ्यरुपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आमसर्वसाधारणमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्