झापा , जेठ २२ । कृषि सामाग्री कम्पनी कोशी प्रदेश कार्यालय विराटनगरले बर्खे धान रोपाइँका लागि ८६ हजार बोरा डीएपी मलको व्यवस्था गरेको छ ।

कम्पनीलाई भारतको आईपीएल कम्पनीले टेण्डर मार्फत उपलब्ध गराएको उक्त मल सोमबार जोगबनी नाका हुँदै विराटनगर आइपुगेको छ । कम्पनीले बर्खे धानका नाममा आयात गरेको उक्त मल मागको २५ प्रतिशत मात्र हो । कोशी प्रदेशका १४ जिल्लामा झण्डै ३ लाख ४० हजार हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । सो खेतीका लागि करिव ३ लाख ५० हजार बोरा डीएपी मल आवश्यक पर्ने कम्पनीले जनाएको छ । कम्पनीले प्रदेशभरका लागि ८६ हजार बोरा अर्थात् ४ हजार ३ सय टन डीएपी आयात गरेको छ । ‘ल्याइएको मल मागको करिव २५ प्रतिशत मात्र हो । आयात भएको डीएपीमध्ये ८ हजार ६ सय बोरा स्टक राखेर कम्पनीले ७७ हजार ७ सय बोरा प्रदेश कृषि मन्त्रालयको सिफारिसमा सहकारी मार्फत बिक्री गर्ने छ’ कम्पनीका अधिकारी होम पराजुलीले भने । उनका अनुसार यो मल प्रदेशमा धान रोपाइँ गर्ने प्रत्येक किसानलाई १० किलोका दरले मात्र उपलब्ध हुने स्थिति छ । गतवर्ष पनि यो प्रदेशका हरेक किसानले धान रोपाइँका लागि १० किलो मात्रै डीएपी मल पाएपछि भारतबाटै अवैध भित्रिएको न्यून गुणस्तरको मल प्रयोग गर्न बाध्य भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्