एजेन्सी । बालोन डी’ओर विजेता करिम बेन्जेमा पछिल्लोपटक साउदी अरेबिया क्लबसँग अनुबन्ध हुने सबैभन्दा नयाँ ठूला नामका खेलाडी बनेका छन् ।

रियाल मड्रिडका स्ट्राइकर बेन्जेमा मंगलबार स्वतन्त्र एजेन्टको रूपमा साउदी क्लब अल इत्तिहादसँग अनुबन्ध भएका हुन् । फ्रान्सका बेन्जेमाले यसै साता रियालसँगको १४ वर्षे यात्रा अन्त्य गर्ने घोषणा गरेका थिए । त्यसपछि बेन्जेमाले साउदी प्रो लिग च्याम्पियन अल इत्तिहादसँग तीन वर्षको सम्झौता गरेका हुन् । उनले अल इत्तिहादमा पनि नौ नम्बरकै जर्सी लगाउने भएका छन् । “फरक देशमा नयाँ फुटबल लिगको अनुभव गर्न पाउँदा उत्साहित छु । आफ्नो करियरमा अद्भूत चिजहरू हासिल गर्नुका साथै स्पेन र युरोपमा मैले गर्न सक्ने सबै कुराहरू हासिल गर्न सकेकोमा आफूलाई भाग्यमानी ठानेको छु,’’ बेन्जेमाले भने, “अब यो नयाँ चुनौती र परियोजनाको लागि उपयुक्त समय हो जस्तो लाग्छ । म नयाँ टिमका साथीहरूसँग सामेल हुनको लागि उत्सुक छु । उनीहरूसँग मिलेर यो अद्भूत क्लब र साउदी अरेबियाको खेललाई नयाँ स्तर पुर्‍याउन मद्दत गर्ने छु ।’’

बेन्जेमाले आफ्नो रियालका पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डोको पथ पछ्याएका छन् । पोर्चुगलका फरवार्ड रोनाल्डोले गत डिसेम्बरमा अल नासरसँग अनुमानित २० करोड युरोभन्दा बढी रकममा सम्झैता गरेका थिए । बेन्जेमा सन् २००९ मा ओलम्पिक लियोनाइसबाट रियालमा आबद्ध भएका थिए । रोनाल्डोले २०१८ मा रियाल छाडेर युभेन्टस गएपछि स्पेनि क्लबमा बेन्जेमाले आक्रमण पंक्तिको नेतृत्व गरेका थिए । बेन्जेमाले रियालबाट पाँचपटक च्याम्पियन्स लिग र चारपटक ला लिगाको उपाधि जितेका छन् । बेन्जेमाले २०२१-२२ मा रियालसँग आफ्नो उत्कृष्ट सिजन बिताए । उक्त सिजन उनले सबै प्रतियोगितामा गरी ४४ गोल गरे । क्लबलाई कीर्तिमानी १४औँ च्याम्पियन्स लिगको उपाधि र स्पेनिस ला लिगा जिताएका थिए । त्यही प्रदर्शनका लागि फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले बेन्जेमालाई ६ वर्षपछि राष्ट्रिय टिममा समावेश गरेका थिए । म्याथ्यु वाल्बुएना सेक्स टेप स्क्यान्डलमा संलग्नता भएको आरोपमा उनलाई टिमबाट हटाइएको थियो ।

३५ वर्षे बेन्जेमाले गत वर्ष विश्व फुटबलकै सबैभन्दा प्रतिष्ठित बालोन डी’अर अवार्ड जितेका थिए । चोटका कारण गत वर्ष कतारमा सम्पन्न विश्वकपमा उनी फ्रान्सको टिममा परेनन् । बेन्जेमाले अझै एक सिजन रियालमा बिताउने अनुमान गरिएको थियो र बेन्जेमाले पनि त्यही संकेत गरेका थिए । तर, साउदी क्लबको राम्रो प्रस्तावपछि उनले आफ्नो निणर्य पुनर्विचार गर्न बाध्य भए । अल-इत्तिहादले सन् २००९ पछि पहिलोपटक साउदी प्रो लिगको उपाधि जितेको थियो । अत्तिहादले भनेको छ, “बेन्जेमाको आगमन क्लब इतिहासमा अहिलेसम्मकै सबैभन्दा प्रभावकारी स्थानान्तरण हो । यो साउदी प्रो लिगलाई विश्वकै उत्कृष्त गन्तव्य बनाउनका लागि अर्को ठूलो कदम हुनेछ ।’’ अल इत्तिहाद क्लबका अध्यक्ष अनमार अलहाइलेले बेन्जेमाको आगमन क्लबका लागि ठूलो उपलब्धि भएको बताए । उनले भने, “बेन्जेमा विश्व फुटबलको एक आइकन हुन् । उनी अहिले उत्कृष्ट लयमा छन् । उनी मैदानभित्र र बाहिर दुवैमा ठूलो महत्त्वाकांक्षा भएको देश तथा अत्यधिक प्रतिस्पर्धी लिगमा सामेल भएका छन् । ’’ आगामी साताभित्र अन्य केही ठूला खेलाडी पनि साउदी प्रो लिगका क्लबहरूसँग अनुबन्ध हुने सम्भावना छ । त्यसमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसीको नाम पनि समावेश छ । रोयटर्सका अनुसार मेसी अर्को सिजनका अल-हिलालसँग अनुबन्ध हुने सम्भावना छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्