झापा, जेठ २५ । ‘कोशी’ प्रदेश नामका प्रस्तावक एमालेका उपनेता राम राना मगरलाई पहिचान पक्षधरले कालोमोसो दलेका छन् ।

प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्रमान सिंह थेगिमले मगरलाई कालोमोसो दलेको पुष्टि गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘आज ०८० जेठ २५ गते इलाम नगरपालिका –११ सोयाकमा कोशी प्रदेश नामका प्रस्तावक राम रानालाई सोयाकबासी जनताले करिव सवा ११ बजेको समयमा अचानक भेटेपछि गाडीभित्रै एक बाल्टी पूरै कालोमोसो मोबिलले स्वागत गरी पठाइएको र उहाँ सवार सेतो गाडी पनि कालो मोबिलले रंगाएर सजाइ पठाइएको खबर छ ।’
यस्तै, उदयपुरको गाईघाटमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारलाई समेत पहिचान पक्षधरले दुर्व्यवहार गरेका छन्। उनी सवार गाडी छेकेर आक्रमण प्रयास गरिएको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

गत फागुन १७ गते प्रदेश १ लाई कोशी नामकरण गरेसँगै यतिबेला पहिचानपक्षधर सडक आन्दोलनमा उत्रिएका छन्। आन्दोलनले उग्ररूप लिन थालेपछि कोशी प्रदेश सरकारले बुधबार पहिचान पक्षधरको आन्दोलनको माग सुनुवाइ गर्नका निमित्त खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङवोको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ।तर, पहिचान पक्षधरले भने कोशी नामकरण खारेज गर्नुपर्ने र अल्पमतको सरकारसँग वार्ता नगर्ने अडान लिएको छ।
यसैबीच उपसभामुख इन्दिरा रानाले नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको उपनेता राम रानामाथि इलाममा भएको आक्रमणको प्रयासबारे सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले उक्त घटनाको विषयमा सरकारको ध्यानाकर्षण गराउन माग गरेपछि उपसभामुख रानाले ध्यानाकर्षण गराएकी हुन् ।
आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल चलिरहेका बेला एमालेका सांसदले उठेर विरोध जनाएका थिए । एमालेका प्रमुख सचेतक पदम गिरीले एमाले कोशी प्रदेश संसदीय दलको उपनेता राम रानालाई इलाममा आक्रमण गर्ने प्रयास भएको बताउँदै घटनाको यथार्थ विवरणका बारेमा गृहमन्त्रीले संसदमा जानकारी नगराए शुक्रवारदेखि संसद् चल्न नदिने बताए । साथै उदयपुरमा पनि कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारमाथि पनि आक्रमणको प्रयास भएको उनको दाबी छ ।

त्यस्तै नेकपा एमाले कोशी प्रदेश संसदीय दलले पहिचान पक्षधरले आफ्ना उपसभामुख र उपनेतालाई गरेको दुर्व्यवहारप्रति निन्दा गरेको छ।

आफ्ना दलका उपनेता मगर र कोशी प्रदेश उपसभामुख दनुवारमाथि भएको आक्रमण र दुर्व्यवहार हुनु निन्दात्मक काम भएको दलका तर्फबाट एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रतिक्रिया दिएका छन्। सरकारले वार्ता समिति बनाइसकेको अवस्थामा शान्तिपूर्ण संवादमा आउनुको साटो उदयपुरमा उपसभामुख दनुवार र इलाममा पूर्वमन्त्री रानाप्रति पहिचानवादीले गरेको दुर्व्यवहारप्रति घोर निन्दा रहेको उनले बताए।

उनले भने, ‘यति गम्भीर घटना हुँदा पनि संघीय सरकार चुप लागेर बस्नु आश्चर्यजनक छ।’
भण्डारीले आन्दोलनकारीलाई वार्तामा आएर समस्या समाधान गर्न आग्रह गर्दै अटेरी गरेर यस्तै गतिविधि गरिरहे चुप लागेर नबस्ने चेतावनी समेत दिए।
‘हामी आन्दोलनरत पक्षलाई शान्तिपूर्ण रूपले वार्तामा आएर समस्या समाधान गर्न आग्रह गर्दछौं। अन्यथा यस्तो गतिविधि दोहोरिरहे चुप लागेर बसिररहन नसक्ने चेतावनी दिन चाहन्छौं’‚ उनले भने।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्