इलाम, जेठ २७ । यु—२० राष्ट्रिय रग्वी सेभेन्सको उपाधि कर्णाली रग्वी क्लब र हेटौडा रगर्सले जितेका छन् ।

इलामको माई नगरपालिका—४ स्थित शुक्रबारे खेलमैदानमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णालीले १५—५ अन्तरले कटारी रग्वी क्लब र महिलातर्फ हेटौडाले १४—५ ले हिमालयन टाइगर रग्वी क्लबलाई हराउँदै उपाधि जितेका हुन् । बिजेता दुवै टोलीले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता बनेका टोलीले ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको बिजेता तथा उपविजेतालाई माई नगर प्रमुख खम्बसिं लिम्बू, नेपाल रग्वी संघका बरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, महासचिव गोविन्द घिमिरे, उपाध्यक्ष किरण गिरी, केन्द्रीय सदस्य सन्तकुमार मेहतालगायतले पुरस्कार प्रदान गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ कर्णालीका रोहन डंगोल र महिलातर्फ हेटौडाकी पुष्पा खड्का घोषित भए । उनीहरुले जनही ५ हजार प्राप्त गरे । उदीयमान खेलाडी कटारीका नविन दर्लामी र विडिसा राई घोषित भए । उनीहरुले जनही २ हजार पाँच सय प्राप्त गरे ।

नेपाल रग्वी संघको आयोजनामा भएको प्रतियोगितामा प्रदेश रग्वी संघ, जिल्ला रग्वी संघ इलाम र माई नगरपालिकाको सहजीकरण रहेको थियो । प्रतियोगितामा पुरूष र महिलातर्फ कोशी प्रदेशबाट कटारी रग्वी क्लब, मधेस प्रदेशबाट बर्दिबास रग्वी क्लब, बागमती प्रदेशबाट हेटौडा रगर्स, कर्णाली प्रदेशबाट कर्णाली रग्वी क्लब र राष्ट्रिय क्लब हिमालयन टाईगर रग्वी सहभागी थिए ।
प्रतियोगिताबाट आगामी अगष्टमा नेपालमा हुने यु–२० एसिया रग्वी सेभेन्स प्रतियोगिताको लागि नेपाली टिम छनौट हुनेछ । समापन समारोह नेपाल रग्वी संघका बरिष्ठ उपाध्यक्ष चेतनराज गिरीको अध्यक्षता र कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्