बिर्तामोड,जेठ २७ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन( अनेरास्ववियु) झापाको २१ औं जिल्ला सम्मेलन यही जेठ २९ गते बिर्तामोडमा हुने भएको छ ।

बिर्तामोडको सिटी सेन्टरमा हुने सम्मेलनको तयारी पूरा भएको आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । अनेरास्ववियुका जिल्ला अध्यक्ष रोशन लामाले प्रतिनिधि र आयोजक गरी ७०३ जनाको सहभागिता रहने सो सम्मेलनको तयारी पूरा भएको बताए । सम्मेलनको अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिप बडालले उद्घाटन गर्नेछन् ।

अनेरास्ववियुको जिल्ला अध्यक्ष भएर आफूले १७ महिना काम गरेको बताउँदै लामाले २०७३ सालको स्ववियु निर्वाचनमा झापाका दुईवटा क्याम्पसमा मात्र जितेको अनेरास्ववियुले आफ्नो कार्यकालमा जिल्लाका १२ वटामध्ये ६ वटामा विजय हासिल गरेको उल्लेख गरे । उनले शैक्षिक मुद्धामा पनि धेरै काम भएको दावी गरे । चुनावी सम्मेलनबाट नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास गर्ने , हुन नसके निर्वाचन प्रक्रिया अपनाउने लामाले बताए ।

सम्मेलनबाट ३९ सदस्यीय जिल्ला कमिटी चयन हुने भएको छ । नयाँ नेतृत्वका लागि वर्तमान समितिका उपाध्यक्ष बलराम गिरी र सचिव नारायण पाखरेलले दावी गरेको बुझिएको छ । पत्रकार सम्मेलनमा नेकपा एमाले झापाका उपसचिव असारु राजवंशी , जिल्ला सदस्य निता घतानीको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सचिव नारायण पोखरेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्