झापा, जेठ २८ । विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सुनसान बन्दै गएको छ ।

केही समय अघिसम्म पर्यटकले खचाखच भरिएको सोलुखुम्बुको खुम्बु क्षेत्र सिजन सकिएसँगै अहिले सुनसान बनेको हो । विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो तथा दृश्यावलोकन गर्ने स्थलहरु सिजन सकिएसँगै उक्लिएको छ । पर्यटनको मध्य सिजनमा एकैपटक धेरै पर्यटकको आगमन हुँदा सेवा दिनसमेत धौ धौ परेका यहाँका होटल व्यवसायीहरुलाई समेत यतिखेर भने फुर्सद मिलेको स्थानीय होटल व्यवसायी याङजी शेर्पाले बताइन् । उनले भनिन् ,‘सिजनमा पर्यटकको स्वागत सत्कारमा व्यस्त भइन्छ, त्यही भएर अहिले आराम गर्ने, घुम्फिरमा जाने गरेका छौं ।’ केही हप्ता अघिसम्म विदेशी पर्यटक, पर्यटकको भारी बोक्ने चौपाया तथा भरियाको ताँतीले भरिभराउ खुम्बु क्षेत्र अहिले शान्त छ। सिजनमा आवातजावतसमेत अवरुद्ध हुने साँघुरा बाटोघाटोमा अहिले सिमित पर्यटक मात्रै भेटिने गरेको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए ।

सिजन सकिएसँगै यतिखेर खुम्बुवासी पुजापाठमा व्यस्त रहेको उनको भनाइ छ । सिजनमा अत्यन्तै चाप हुने भएकाले सिजन सकिएपछि घुम्नका लागि अधिकांश व्यवसायी तथा होटल सञ्चालक बाहिर निस्कने गरेका छन् । यस क्षेत्रका नागरिकहरुको मुख्य आम्दानीको स्रोत नै पर्यटन भएकाले सिजन सकिएसँगै उनीहरु फुर्सदिला बनेका हुन् । सिजनमा कडा मेहनत गर्ने र ‘अफसिजन’मा रमाइलो, घुमफिर, भ्रमण लगायतका कार्यमा समय बिताउनु यहाँका नागरिकहरुको विशेषता जस्तै बनेको छ । खुम्बुमा वर्षको दुई सिजन फागुन अन्तिमदेखि जेठ मध्यसम्म र असोजदेखि मंसिरसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । सिजनमा दैनिक ७ सय जनासम्म पर्यटक भित्रिएको खुम्बुमा अहिले भित्रिने पर्यटक नगन्य मात्रामा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले बताए । पर्यटकको अवगमन न्यून भएसँगै निकुञ्ज चेकपोष्टका कर्मचारीहरु पनि केहि फुर्सदिला बनेको निकुञ्जको कार्यालयले जनाएको छ ।

लुक्ला विमानस्थललाई पनि फुर्सद
नेपालको घरेलु विमानस्थलमध्ये सबैभन्दा बढी व्यस्त रहने विमानस्थलको सूचीमा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला पर्छ । अति जोखिममध्ये विश्वकै १० औँ नम्बरमा आउने लुक्ला विमानस्थलमा दैनिक १०० को हाराहारीमा उडान तथा अवतरण हुने गरेको विमानस्थल कार्यालय बताउँछ । विश्वको सर्वोच्च शिखर सगरमाथासहितको हिमाल आरोहण गर्ने यात्रुले प्रयोग गर्ने यो विमानस्थलमा यात्रुको चाप पनि उस्तै हुन्छ । आरोही, उनका सहयोगी र उनीहरुले प्रयोग गर्ने सामान ढुवानीको विकल्प हवाईमार्ग या पदमार्ग मात्र रहेको छ ।

त्यसैले सबैभन्दा बढी हवाईमार्ग हुँदै यात्रु र उनीहरुको आवश्यक बन्दोबस्तीका सामग्री हवाईजहाजमार्फत ल्याउने लैजाने गरिन्छ । पर्यटकीय ‘सिजन’को बेला हजारौँ विदेशी तथा स्वदेशी पर्यटक खुम्बु क्षेत्रको भ्रमणमा आउने गर्छन् । विशेषगरी वर्षमा दुईपटक आरोहण सिजन हुने समयमा यहाँ यात्रुको चाप बढी हुन्छ । पर्यटकीय सिजन सकिएपछि यस क्षेत्रका व्यवसायी भने ‘कार्गो’ ढुवानीमा व्यस्त हुन्छन् । अहिले विमान पनि यात्रुसँगै कार्गो ढुवानीमा व्यस्त रहेका छन् । तारा एयर लुक्लाका स्टेशन इञ्चार्ज अमृत मगरका अनुसार अधिकांश विमानले यतिखेर कार्गो ढुवानी गरिरेहका छन् । काठमाडौं-लुक्लाका लागि उडान भरिरहेका तारा र समिट एयरले यात्रु अभाव हुँदा कार्गो ढुवानी गर्न थालेका हुन् । पर्यटकीय सिजन सकिएपछि लुक्ला आउने र काठमाडौं जाने यात्रुको सङ्ख्या कमी हुँदा कार्गो ढुवानी भइरहेको विमानस्थल कार्यालय लुक्लाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्