झापा, जेठ २९ । मिटरब्याज जाँचबुझ आयोगमा २२ हजार मिटरब्याजी पीडितले उजुरी दिएका छन्।

मधेश प्रदेशका आठसहित ६७ जिल्लाका मिटरब्याजी पीडितले उजुरी दिएका हुन् । सरकारले वैशाख १७ गते विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरेको मिटरब्याज जाँचबुझ आयोगमा सबैभन्दा बढी मधेश प्रदेशमा उजुरी आएका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत आयोगमा उजुरी दिनेमा बाराका सबैभन्दा बढी छन् । आयोगका सदस्य एवं एवं महान्यायाधिवक्ता गणेशबाबु अर्यालले बारामा मात्रै तीन हजार ३२२ निवेदन परेको बताए । उनका अनुसार पर्सामा एक हजार ३२१, रौतहटमा दुई हजार ५८, सर्लाहीमा एक हजार ९२०, महोत्तरीमा दुई हजार ३३६, धनुषामा दुई हजार ६१५, सिराहामा दुई हजार ९२० र सप्तरीमा एक हजार ५७९ वटा निवेदन परेका छन् । उनले भने, “पीडितका तर्फबाट २२ हजार निवेदन परेका छन् । १६ हजारको तथ्याङ्क इन्ट्री भइसकेको छ । केही मुद्दामा मिलापत्र पनि भएको छ । निवेदनलाई वर्गीकरण गरिएको छ । अदालतबाट मुद्दा चलेका, फैसला भएका र भर्खरै कानुनी प्रक्रियामा आएका मुद्दालाई प्राथमिकताका आधारमा वर्गीकरण गरेर समाधान गरिने छ।” सदस्य अर्यालका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वमा जिल्लामा कार्यदल गठन गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्