झापा, जेठ २९ । तीन वर्षअघि बिर्ताबजारको दुर्गा मन्दिरले भोगेको समस्या यतिबेला गरामनीको दुर्गा मन्दिरलाई आइपरेको छ ।

सडक विस्तारका क्रममा तीन वर्षअगाडि धार्मिक आस्थाको धरोहर बिर्ताबजारको पुरानो दुर्गा मन्दिर विवादका बीच सार्नुपरेको थियो ।अहिले त्यही समस्याबाट पूर्वकै ऐतिहासिक, धार्मिक शक्तिपीठ गरामनीको दुर्गा मन्दिर गुज्रिरहेको छ । निर्माणाधिन बिर्तामोड–भद्रपुर सडकको क्षेत्रभित्र सो मन्दिर परेको छ । धमाधम सडक र ड्रेन निर्माण भइरहेकाले केही दिनमै सो मन्दिर सार्नुपर्ने देखिएको छ ।

ठेक्का पाएको निर्माण कम्पनीले सडक निर्माण धमाधम गरिरहेकाले बाटोभित्र परेको मन्दिर सार्न आफूहरुले पटकपटक आग्रह गरिसकेको सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले बताए । उनले मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहेका प्रदेश सांसद एकराज कार्कीलाई पनि त्यसबारे अनुरोध गरेको जानकारी दिए ।‘बाटोभित्र परेको मन्दिरलाई व्यवस्थापन गर्नैपर्ने देखिएको छ,’उनले भने,‘त्यसका लागि हामीहरुले निकै अगाडिदेखि भन्दै आएका छौं । ’

तर, गरामनीको ऐतिहासिक नवदुर्गा शक्तिपीठ नसार्ने स्थानीयले अडान लिएका छन् । केही दिनभित्रै मन्दिर सार्न सडक डिभिजन कार्यालयले अनुरोध गरिरहँदा अनादिकालदेखि आस्थाको धरोहरको रुपमा रहेको पुरातात्विक महत्वको त्यस शक्तिपीठलाई छुनै नमिल्ने स्थानीय भक्तालुहरुले जवाफ दिएका छन् । बिर्तामोडको धौला पुलदेखि देउनियासम्म तीब्र गतिमा सडक निर्माण भइरहेको छ । धौला पुलदेखि देउनियासम्मको करिव ५ किलोमिटर सडक निर्माणको ठेक्का पाएको काठमाडौंको कन्टेक प्रालिले निर्माण सम्पन्न गर्नुपर्ने म्याद साउन ५ सम्म मात्र रहेको छ ।

ठेकेदार कम्पनीले सडकको दुवैतर्फ ड्रेन र प्लमको काम सक्न लागेको छ । दुर्गा मन्दिरको पूर्व र पश्चिम दुवैपट्टी ड्रेन बनाइसकेको ठेकेदार कम्पनीले मन्दिर भएको ठाउँमा भने काम रोकेको छ । सडकको चौडाई १५–१५ मिटर दायाँ बायाँ तय गरिएको छ । तोकिएको त्यस क्षेत्रभित्र पुरै मन्दिर परेको छ । मन्दिर सार्ने विषयमा अहिलेसम्म कुनै पनि निर्णय गरिनसकेको प्रदेश सांसद कार्कीले बताए । आफूहरु भरसक मन्दिर नसार्ने अडानमा रहेको उनले बताए । त्यस ऐतिहासिक मन्दिरलाई छुनै नहुने प्रगाढ आस्था भक्तालुहरुको रहेको मन्दिरका पुजारी मोहन घिमिरेले बताए । सार्ने ठाउँ नभएका कारणले पनि मन्दिर सार्ने कुरामा सहमति बन्न नसक्ने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्