कुमरखोद, जेठ २९ । इलाका प्रहरी कार्यालय कुमरखोदको नवनिर्मित भवनको उद्घाटन भएको छ ।

सोमवार एक समारोहका बीच प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले नवनिर्मित कार्यालय भवन , व्यारेक , भान्साघरको उद्घाटन गरेका हुन् ।
कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय विराटनगरको विनियोजित बजेटबाट इलाका प्रहरी कार्यालय कुमरखोदको भवन बनाउनका लागि २ करोड ३५ लाख ८७ हजार १६२ रुपैयाँमा ( कर सहित )टक्सार निर्माण सेवा प्रा.लि.डल्लु काठमाडौलाई ठेक्का दिइएको थियो । टक्सार निर्माण सेवा प्रा.लि.ले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग इलाका प्रहरी कार्यालयको भवन बनाउनका लागि २०७६ साल जेठ १६ गते सम्झौता गरी २०७७ साल जेठ १४ गते एक वर्षभित्रमा भवन निर्माण सम्पन्न गर्ने म्याद रहेता पनि उक्त कम्पनीले कोभिड १९ को कारण देखाउँदै ढिलोगरी २०७९ सालमा काम सम्पन्न गरेको थियो ।
उद्घाटन कार्यक्रममा प्रदेश प्रहरी कार्यालय भौतिक पूर्वाधार शाखाका ईन्जिनियर प्रहरी उपरीक्षक अनिल रानाले भवन निर्माणसम्वन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक बास्तोला , विशिष्ठ अतिथिहरुमा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल , प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल , जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गाराज रेग्मीलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी झापाका प्रमुख देवराज अर्याल , झापा गाउँपालिका उपाध्यक्ष अन्जुदेवी थपलिया , वडाध्यक्षहरु राजकुमार यादव, हिमालकुमार चम्लागाई, सुवाषलाल गणेश, मोहमद ताहिर , सखिचन्द्र ठाकुर, राजनैतिक दलका प्रतिनिधिहरु , संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । त्यसैगरी अस्थाई प्रहरी चौकी बनाउन सडकवाडीमा जग्गादान दिएकी चन्द्रमाया कार्कीका प्रतिनिधि रेवत केसीलाई प्रमुख अतिथिबाट कदरपत्रले सम्मान गरिएको थियो ।