झापा , जेठ ३० । बालविवाह गरेको आरोपमा प्रहरीले दुईजना बालबालिका र विवाह गराउन सहयोग गरेको आरोपमा एकजना गरी तीनजना पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका-४ देब्रवासका १९ वर्षीय बेहुला नरेश मङराती, धनकुटा नगरपालिका-६ कचिडेकी १५ वर्षीया बेहुली मिना खड्का (नाम परिवर्तन) र धनकुटा नगरपालिका-४ देब्रेवासका बेहुलाका बाबु ४० वर्षीय कृष्ण मङराती रहेका छन्। बलबालिकाहरू परिवारको सल्लाहमा सोमबार विवाह गराइदिएको सूचनाका आधारमा प्रहरीले विवाह मण्डपबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । डीएसपी कुवँरले केटाकेटीको उमेर २० वर्षभन्दा कम भएकाले कानुन अनुसार प्रक्रिया अघि बढाइने जानकारी दिए । मंगलबारदेखि अदालती प्रक्रिया अघि बढ्ने र यस घटनामा अभिभावकहरू पनि अनुसन्धानको दायरामा पर्ने उनको भनाइ छ । बेहुली पक्षले कम उमेर भएका कारण विवाह नगर्न दबाब दिए पनि केटाकेटीले भागेर विवाह गरेको जनाएको छ । बेहुलीका बाबु ४५ वर्षीय आशिक खड्काले गत वैशाख १ गते भागेर अन्तर्जातीय विवाह गरेको बताए । उनले सम्झाइ बुझाइ गर्दा पनि केही नलागेपछि छोडेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्