झापा, जेठ ३० । बिजुलीको मिटर जोड्न होस् वा खानेपानीको । मिटर जोड्न आउने प्राविधिकलाई चिया खान भनेर पाँच सय –हजार रुपैयाँ दिनैपर्ने गलत चलन भित्रिसकेको छ ।

उपभोक्ताले लाग्ने राजश्व कार्यालयमा तिरिसकेपछि मिटर जोड्न आउने प्राविधिकलाई कुनै पनि दस्तुर तिर्नुपर्दैन । चिया खान भनेर प्राविधिकहरुले उपभोक्ताहरुबाट अवैध रुपमा घुस लिइरहेका छन् । नयाँ विद्युत् मिटर जोडन लगाएका बिर्तामोड ३ का एक उपभोक्ताले आफूले मिटर जोड्न आउने विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका कर्मचारीलाई हजार रुपैयाँ चिया खर्च दिएको बताए । केही वर्षअघि प्राविधिकहरुले चिया खर्च भन्दै पाँच सय रुपैयाँ लिने गरेकोमा अहिले पाँच सयमा चित्त बुझाउँदैनन् । उनीहरुलाई मिटर जोडेवापत हजार रुपैयाँ दिनैपर्ने बिर्तामोड ३ कै अर्का उपभोक्ताले बताए । चिया खर्च नदिँदा काममा ढिलासुस्ती हुने गरेको उनले समस्या सुनाए ।

फिल्डमा खटिने विद्युत्का मात्र नभएर खानेपानी र नेपाल टेलिकमका कर्मचारीहरुले पनि त्यसरी अवैध रुपमा रकम असुलिरहेका छन् । फिल्डमा खटिने प्राविधिकहरुले गलत रुपमा असुलिरहेको रकमबारे सम्बन्धित कार्यालयहरुमा गुनासो नपुगेको होइन ,तर उनीहरुमाथि कार्वाही हुन सकिरहेको छैन । सरकारबाट तलब भत्ता खाइरहेका कर्मचारीलाई चिया खर्च दिएर ग्राहकहरुले नै बानी बिगारेको नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रका प्रमुख सुधिरकुमार राय बताउँछन् । ‘ विद्युत् मिटर जोड्न आउने कर्मचारीलाई केही पनि दिनुपर्देन’ उनले भने, ‘ ग्राहकले खुशी भएर दिने काम छैन ।’ यदि कर्मचारीले पैसा मागे बिल माग्न उनले आग्रह गरे । फिल्डमा खटिएका कर्मचारीले पैसा मागेको गुनासो अनारमनी वितरण केन्द्रमा पटकपटक आउने गरेको छ । ग्राहकहरुको गुनासोको विषयमा कार्यालयको बैठकमा छलफल हुने गरेको र फिल्डमा जाने कर्मचारीलाई सचेत गराएको उनले बताए । फिल्डमा जाने कर्मचारीलाई कुनै पनि रकम नदिन र माग्न खोजे आफूलाई खबर गर्न उनले आग्रह गरे ।

ग्राहकहरुबाट खानेपानीका कर्मचारीहरुले पनि रकम असुल्ने गरेको प्रशस्तै गुनासो छ । मिटर जोड्न र मर्मत गर्न आउने कर्मचारीहरुले रकम असुल्ने गरेका हुन् । आफ्ना कर्मचारीहरुले ग्राहकहरुबाट त्यसरी रकम उठाउने गरेको गुनासो सुनिएको बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोलाले बताए । उनले उपभोक्ताको सेवामा आउने कर्मचारीलाई कुनै पनि रकम नदिन आग्रह गरे । नेपाल टेलिकमका कर्मचारीहरु पनि त्यो कुप्रवृतिबाट अछुतो रहेका छैनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्