भद्रपुर, जेठ ३० । संघीय सरकारमार्फत भद्रपुर नगरपालिकामा ‘सन्थाल आवास’ निर्माणका लागि आगामी आर्थिक वर्षका लागि दुई करोड बजेट विनियोजन भएको छ ।

सिमान्तकृत विपन्न आदिवासी उत्थान कार्यक्रमअन्तर्गत सरकारले सन्थाल समुदायको घर निर्माणका लागि आर्थिक वर्ष २०८०÷८१ का लागि संघीय सरकारबाट विशेष अनुदानस्वरुप सो रकम विनियोजन भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीका अनुसार विनियोजित रकमबाट करिब एक सय घर निर्माण गर्न सकिने छ । प्रमुख रेग्मीले संघीय सरकारबाट प्राप्त बजेटसँगै लाभग्राहीबाट केही लागत सहभागिता जुटाउन सकिए घर निर्माण संख्या बढ्न सक्ने अनुमान समेत गरेका छन् ।
भद्रपुर नगरपालिकाभित्र ६ सय ३४ घर परिवार रहेको सन्थाल समुदायको दुई हजार ५ सय २२ जनसंख्या रहेको छ ।

नगर प्रमुख गणेश पोखरेलका अनुसार घर निर्माण गर्दा एकल महिला, विपन्न आर्थिक अवस्थालगायतका आधारमा मापदण्ड बनाएर प्राथमिकताको सूची निर्माण गर्दै सन्थाल आवास निर्माण गरिने छ ।
उनले नगरपालिकाले चालु आवमा नगरमा रहेका सबै आदिवासी सन्थाल समुदायको निःशुल्क स्वास्थ्य बीमासमेत गरिदिएको जानकारी दिँदै आर्थिक अवस्था कमजोर भएका समुदायको जीवनस्तर उकास्न नगरपालिकाले सक्दो प्रयास गरिरहेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्