भद्रपुर,जेठ ३० । चन्द्रगढीमा रहेको महेन्द्र पार्कका लागि भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजले एक लाख ५ हजार मूल्य बराबरका एक हजार दुई सय वटा विभिन्न जातका सजावटका बिरूवा निःशुल्क प्रदान गरेका छन् ।

पार्क संरक्षण समितिका अध्यक्ष गणेश पोखरेललाई वडाध्यक्ष सुब्बाले स्वर्गीय पिता वीरहाङ लिम्बू तथा सासु आमा भूमिमाया लिङ्देनको स्मृतिमा पार्कको सौन्दर्य बृद्धि गर्न बिरूवा हस्तान्तरण गरेका हुन् ।

बिरूवा प्रदान गर्दै लिम्बूले भद्रपुर नगरको एक मात्र बाल उद्यानका रूपमा रहेको पार्कको सदावहार सौन्दर्य कायम राख्न भारतलगायत विभिन्न देशबाट झिकाइएका सुन्दरता प्रदान गर्ने बिरूवा निःशुल्क दिन पाएकोमा खुसी व्यक्त गरे । उनले सो पार्कको विकासका लागि स्वर्गीय पिता वीरहाङ लिम्बूको पनि योगदान रहेको स्मरण गर्दै थप बिरूवा चाहिए फेरि पनि दिने बचन दिएका छन् ।

नगर प्रमुख गणेश पोखरेलले वृक्षरोपण गर्दै महेन्द्र पार्कको सुरक्षा र सौन्दर्यका लागि वडाध्यक्ष तथा उनका परिवारबाट प्राप्त बिरूवा महत्वपूर्ण रहेको बताए । उनले आगामी दिनमा पनि लिम्बू परिवारबाट सहयोग हुनेमा विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्