झापा, जेठ ३१ । सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालयका डिआइजी अन्जनीकुमार पोखरेलले सादा पोशाक ‘घुमुवा’ मा खटाएका सशस्त्र प्रहरी निरीक्षक नवलप्रभात राईसहितको टोलीले डियुटिमा खटिएका पाँच जना प्रहरीलाई निर्घात कुटपिट गरेका छन् ।

हतियार तथा बर्दीधारी पाँच जना सशस्त्र प्रहरीलाई सादा पोशाकमा खटिएका सशस्त्रका इन्स्पेक्टर राईसहितको तीन जनाको टोलीले मेची नदीको पानीमा चोब्दै बाँसको भाटैभाटाले निर्घात कुटपिट गरेका हुन् ।
इन्स्पेक्टर राईको कुटपिटबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नकलबन्दामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दारहरु गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सशस्त्र प्रहरी सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशी घाइते भएका छन् ।
तामाङ र राजवंशीको ढाडमा चोट लागेको छ भने तामाङको शरीरभरि नीलडाम बसेको छ । त्यस्तै कार्की र राईको दायाँ हातमा चोट लागेको बताइएको छ । घाइतेहरूको धुलाबारीस्थित आम्दा मेची हस्पिटलमा उपचार भइरहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले सादा पोशाकमा खटाएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू रामसुन्दर तामाङ र जीवन बास्तोलाले सो नाकाबाट सामान गएको भन्दै बर्दीधारी सशस्त्रहरूलाई कुटपिट गरेपछि मेचीनगर नगरपालिका– ५ स्थित नकलबन्दा क्षेत्र गएराति ५ घण्टा तनावग्रस्त बनेको थियो ।

बर्दीधारी सशस्त्रलाई सार्वजनिक स्थलमा निर्घात कुटपिट गरेपछि आक्रोशित बनेका त्यहाँका स्थानीयहरू सादा पोशाकका इन्स्पेक्टर राईसहित तीनै जनालाई कडा कारबाहीको माग गर्दै नाराबाजीमा उत्रिएका थिए । इन्स्पेक्टर राईसहित तीनै जनालाई बिओपी नकलबन्दा लैजाने क्रममा स्थानीयले होहल्ला गर्दै घटनास्थलमै घेरा हालेर रोक्न खोजेका थिए । सोही क्रममा स्थानीयले सशस्त्रको बीएबी ३२४६ नम्बरको गाडी समेत तोडफोड गरेको बताइएको छ । घटनाले उग्ररुप लिएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल तत्काल घटनास्थल पुगेका थिए । साथै सशस्त्र प्रहरीले घटनालाई साम्य बनाउन करिब एक सय सशस्त्र प्रहरी परिचालन गरेको थियो । एसपी अर्यालले दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि मात्र स्थानीयले इन्स्पेक्टर राईसहित तीनै जनालाई लैजान दिएका थिए ।

कुटपिट गर्ने प्रहरी निरीक्षक राई विवादित प्रहरी अधिकृत हुन् । उनी यसअघि मोरङ पनि बसेका थिए । बिओपी सिक्टीको इन्चार्ज भएर राई बस्दा मोरङको दक्षिणी क्षेत्रबाट तस्करी गराएको आरोपमा विवादमा परेका अधिकृत हुन् । बराह वाहिनीका डिआइजी पोखरेल आएपछि राईलाई घुमुवा प्रहरीको इन्चार्ज राखेका हुन् । प्रहरी निरीक्षक राईले तस्करीको लाइनमार्फत आएको रकम संकलन गर्ने गरेको सुरक्षा स्रोतको भनाई छ । ‘तराईको झापा, सुनसरी र मोरङको दक्षिणी क्षेत्रमा पुगेर पनि तस्करी गराएको भन्दै बिओपी इन्चार्जहरूसँग पनि रकम मागेर हैरान दिएका छन्,’ एक जना विओपी इन्चार्जले भने ।

बराह बाहिनीबाट खटिएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू तामाङ र बास्तोलालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापामा झिकाएर विभागीय कारबाही प्रक्रिया अघि बढाएको एसपी अर्यालले जानकारी दिए । गणभित्रै उनीहरूलाई सोधपुछ गर्ने काम भइरहेको उनले बताए ।
यता सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीका डीआइजी अञ्जनीकुमार पोखरेलले ड्युटीमा खटिएका सशस्त्रलाई कुटपिट गर्ने सशस्त्र कर्मचारीलाई विभागीय कारबाही गरिने बताए ।
झापाका विभिन्न नाकाबाट चोरी तस्करी भइरहेको सूचना आएपछि सो कुरा बुझ्नलाई इन्स्पेक्टर राईसहित उनीहरूलाई खटाइएको स्वीकार्दै डीआइजी पोखरेलले भने, ‘झापामा घटना बुझ्न पो उनीहरूलाई खटाइएको हो, आफ्नै संगठनका बर्दीधारी कर्मचारीलाई त्यसरी डियुटीमा कुटपिट गर्नु कार्य एकदम गलत भयो ।’ घटना बाहिरिएपछि सशस्त्र प्रहरीले छानबिन गर्न समिति बनाएको छ । बाहिनीका एसपी विक्रम हुमागाईँको नेतृत्वमा छानबिन समिति बनेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्