झापा,असार १ । नागरिक उन्मुक्ति पार्टी (एकीकृत)ले कोशी नाम खारेजी आन्दोलन परिचालन समिति गठन गरेको छ ।

कोशी प्रदेश सरकारले आन्दोलनरत प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिलाई पत्र पठाउँदै वार्तामा आउन आह्वान गरेको अबस्थामा नागरिक उन्मुक्ति पार्टी (एकीकृत)ले गठन गरेको कोशी नाम खारेजी आन्दोलन परिचालन समितिले प्रदेश सरकारले आफूहरुसंग वार्ता गर्नुपर्ने माग गरेको छ ।

कोशी नाम खारेजीको साझा आन्दोलनको नेतृत्व आफ्नो पार्टीले गरेको नागरिक उन्मुक्ति पार्टी (एकीकृत)ले कोशी नाम खारेजी आन्दोलन परिचालन समितिका संयोजक धनबहादुर पन्धाकले दावी गरे । प्रदेश सरकारले जातीय संस्थाभन्दा राजनीतिक दलसंग गरेको वार्ता आधिकारिक हुने उनले बताए । बिर्तामोडमा हिजो पत्रकार सम्मेलन गरी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका पन्धाकले कोशी प्रदेश खारेजीको आन्दोलनलाई प्रदेश सरकारले गैर जिम्मेवारपूर्वक मुकदर्शक बनेर हेरेको आरोप लगाए ।

नामांकनको सवालमा भइरहेको आन्दोलनप्रति सरकार आफैं आन्दोलनलाई थप हिंस्रक बनाउन उद्धत रहेको भन्दै उनले सरकारलाई तुरुन्त सच्चिन आग्रह गरेका छन् । प्रदेश १ को नामांकनको सवाललाई वार्ता र सम्वादको माध्यमबाट अविलम्ब सम्वोधन गर्न आग्रह गर्दै उनले पार्टीको आग्रहलाई बेवास्ता गरे थप कार्यक्रमहरु घोषणा गरी सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
सोमबार सरकारद्वारा गठित वार्ता समितिको बैठकले गरेको निर्णय अनुसार आन्दोलनरत प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिलाई पत्र पठाउँदै वार्तामा आउन सरकारले आह्वान गरेको छ। फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरेपछि असन्तुष्ट पक्षले पहिचानका आधारमा नामकरण गर्नुपर्ने माग गर्दै प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन गरिरहेको छ। कोशी प्रदेश सरकारको जेठ २४ गतेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य, खानेपानी, सिचाई तथा ऊर्जा मन्त्री तिलकुमार म्याङ्वोको संयोजकत्वमा भौतिक पूर्वाधार, उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास पर्यटन, वन तथा वातावरण मन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य रहेको वार्ता समिति गठन गरेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्