झापा, असार १ ।झापामा आफ्नै सहकर्मीमाथि निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरीका इन्स्पेक्टर नवप्रभाव राईसहित सशस्त्रका दुई जवान निलम्बनमा परेका छन् ।

इन्स्पेक्टर राईसहित कुटपिट घटनामा संलग्न सशस्त्रका जवानहरू रामसुन्दर तामाङ र जीवन बास्तोलालाई निलम्बन गरी विभागीय कारबाही अघि बढाएको सशस्त्र प्रहरी बल नेपाल मुख्यालयका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए ।
‘मुख्यालयले इन्स्पेक्टर राईको बारेमा बिहीवार नै गृह मन्त्रालयमा पत्र पठाएको थियो,’ प्रवक्ता खडकाले भने, ‘गृहले शुक्रवार इन्स्पेक्टरलाई निलम्बन गरेर कारबाही अघि बढाउन स्वीकृत दिएको हो ।’

अन्य दुई जवानको हकमा मुख्यालयले आफैले निलम्बन गरी कारबाही अघि बढाएको उनको भनाई छ । यता घटनाको छानबिनका लागि मुख्यालयले बिहीबार नै सशस्त्रका एआइजी चन्द्रप्रकाश गौतमको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । एआइजी नेतृत्वको छानबिन समितिको टोली शनिवार घटनास्थल झापा आउने जनाइएको छ ।‘छानबिन समितिको प्रतिवेदनको आधारमा कुटपिट घटनामा संलग्न सशस्त्रका कर्मचारीलाई ठुलै विभागीय कारबाही हुन्छ, त्यसमा कुनै दुबिधा नै छैन,’ प्रवक्ता खड्काले भने ।

जेठ २३ गते मंगलवार राति करिब साढे १० बजेको समयमा मेचीनगर नगरपालिका– ५ स्थित नकलबन्दामा सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह वाहिनी सुनसरीले सादा पोशाकमा खटाएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू तामाङ र बास्तोलाले भारततर्फ गाई गोरु कटाएको निहुँमा ड्युटीमा खटिएका सशस्त्रका वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दारहरु गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सशस्त्र प्रहरी सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशीलाई मेची नदीको पानीमा चोबल्दै, खेदाउँदै भाटैभाटाले कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकाहरू सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नकलबन्दामा कार्यरत थिए ।
सादा पोशाकमा आएका इन्स्पेक्टर राईसहितको टोलीले बर्दीधारी सशस्त्रलाई सार्वजनिक स्थलमा कुटपिट गरिरहेको देखेपछि त्यहाँका स्थानीय प्रतिकारमा उत्रिएका थिए । स्थानीयहरु कुटपिटमा संलग्न इन्स्पेक्टर राईसहितको टोलीमाथि नै खनिएका थिए । त्यसपछि घटनास्थल बिहान ३ बजेसम्म तनावग्रस्त बनेको थियो । स्थानीयले सशस्त्रको बीएबी ३२४६ नम्बरको गाडी तोडफोड गर्दै इन्स्पेक्टर राईसहितको टोलीलाई कारबाहीको माग गर्दै चर्को नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्