बिर्तामोड, असार २ । बिर्तामोड नगरपालिका प्रदूषणसंग जुधिरहेको बेला वातावरणको क्षेत्रमा काम गर्ने उद्धेश्यले बिर्तामोड ४ मा हेल्प नेपाल नामक संस्था स्थापना भएको छ ।

हेल्प नेपाल मुनाफारहित विशुद्ध सामाजिक संस्थाको रुपमा जेठ २९ गते जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको हो । यसले वातावरण संरक्षण, लागूपदार्थ दुर्व्यसनी, फोहोरमैला व्यवस्थापनका साथै सम्बन्धित क्षेत्रमा केन्द्रित भएर समाजमा रहेका नकारात्मक प्रभावलाई न्यूनीकरण गर्ने लक्ष्य लिएको संस्थाका अध्यक्ष बद्री भट्टराईले बताए । यसले अध्ययन, अनुसन्धान, भेला, गोष्ठी, तालिम, सेमिनार, जनचेतना अभियान सञ्चालन गर्दै सामाजिक मूल्य मान्यता स्थापित गर्न तथा अन्तर पुस्ता समन्याय सिद्धान्त अवलम्बन गर्दै सुन्दर भविष्यतर्फ समाजलाई डोर्याउने र रुपान्तरण गर्नेसमेत लक्ष्य राखेको उनले बताए । भट्टराई अध्यक्ष रहेको संस्थाको उपाध्यक्षमा अनिता कन्दङ्वा , सचिव हेमकला कट्टेल , सहसचिव कुशल सुवेदी , कोषाध्यक्ष चित्रकला पौडेल तथा सदस्यहरुमा सरिता मैनाली र सोहनलाल राजवंशी रहेका छन् । संस्थाले बिर्तामोड घोषणापत्र सार्वजनिक गरेको छ ।

जथाभावी फोहोर विसर्जन गर्ने कार्यलाई अन्त्य गर्दै फोहोर स्रोतमा नै वर्गीकरण गरी गराई फोहोरलाई मोहर बनाउने कार्यका लागि जनचेतना अभिवृद्धि गर्दै अगाडि बढ्ने , अदुवा खोलाको एकीकृत विकास गर्नका लागि गुरुयोजना तयार गरी गराई स्वच्छ पानी, हरियाली वातावरण र खोलाको दुवैतर्फ बाटो निर्माण गर्ने, सौन्दर्यीकरण गर्ने गराउने अभियान सञ्चालन गर्ने ,संस्थाको प्रथम वार्षिकोत्सवसम्म हरेक हप्ताको शनिवार विहान ७ बजेदेखि ९ बजेसम्म झापा जिल्लाअन्तर्गत रहेका मुख्य सहरी क्षेत्र, मुख्य सडक, पानीका मुहान सफाई र संरक्षण गर्दै खोला र विशेष गरी सरसफाई गर्न गराउन अभियान सञ्चालन गर्ने गराउने , सार्वजनिक स्थलमा वृक्षरोपणका लागि अभियान सञ्चालन गर्ने , जथाभावी फोहोर विसर्जन नगर्न जनचेतना अभिवृद्धि गर्ने , जथाभावी फोहोर विसर्जन गर्ने व्यक्ति, संस्था तथा सम्बन्धित निकायउपर पोलुटर पे नीति बनाई कार्यान्वयन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने , वायु प्रदूषण, ध्वनि प्रदूषण, दृष्टि प्रदूषण न्यूनीकरण गर्दै जल, जमिन, जङ्गल प्रदूषणलाई संरक्षण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै जनसमुदायमा वातावरणीय न्यायसम्बन्धी हक प्राप्तिका निम्ति अभियान सञ्चालन गर्नेलगायतका कुराहरु घोषणापत्रमा समेटिएका छन् ।
संस्थाले बिर्तामोड ४ मा कार्यालय संचालन गरेको छ । बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले संस्थाको कार्यालय उद्घाटन गरिन् । त्यस अवसरमा संस्थाले कुहिने फोहोर , नकुहिने फोहोर , प्रयोग हुन नसक्ने फोहोर र पुनः प्रयोग हुन सक्ने फोहोरलाई कसरी वर्गीकरण गर्ने भनेर जनचेतना फैलाउँदै चार प्रकारको डस्टविन वितरण गरेको थियो ।