बिर्तामोड , असार २ । नेपाली कांग्रेस झापाले आगामी भदौ २० गतेसम्ममा तहगत सम्मेलन सकेर आगामी असोजमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले साउनको १५ देखि २२ गतेसम्म वडा सम्मेलन, साउन २३ देखि ३२ गतेसम्ममा गाउँ नगर सम्मेलन, भदौ १ देखि १० गतेसम्म प्रदेशसभा क्षेत्रीय सम्मेलन र भदौ ११ देखि २० गतेसम्ममा संसदीय निर्वाचन क्षेत्रको क्षेत्रीय सम्मेलन गर्ने निर्णय गरेको हो ।वडा सम्मेलनमा वडा कार्यसमिति, जिल्लाले तोकेका प्रतिनिधि, सबै क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि, वडामा रहेका भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि, पार्टीको माथिल्लो इकाइ समितिका पदाधिकारी÷सदस्यहरु, जनप्रतिनिधिहरु सहभागी हुनेछन् ।

गाउँ÷नगर, प्रदेश सभा र क्षेत्रीय सम्मेलनमा क्षेत्रीय प्रतिनिधि, सम्बन्धित समितिका पदाधिकारी÷सदस्य, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, माथिल्लो इकाइ समितिका पदाधिकारी÷सदस्यहरु एवं जनप्रतिनिधिहरु सहभागी हुनेछन् ।
वडामा खटिएका जिल्ला प्रतिनिधिहरुले सम्बन्धित वडा र पालिका सभापतिसँग समन्वय गरेर वडा सम्मेलन सम्पन्न गर्ने, सामाजिक सञ्जाललाई पार्टी, देश र जनहितमा सदुपयोग गर्न, अनावश्यक विषयमा टिकाटिप्पणी गरेर विवादमा नफस्न पनि जिल्ला कार्यसमितिको बैठकले पार्टीको सबै तहका पदाधिकारी÷सदस्यहरुलाई आग्रह गरेको छ ।

बैठकमा सभापति देउकुमार थेवे, उपसभापति शेरबहादुर भट्टराई र केशवराज पाण्डेले सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिएका थिए भने जिल्ला सदस्य राम कट्टेलले एकताबद्ध ढंगले पार्टीका निर्णयहरुलाई कार्यान्वयनमा लैजानुपर्ने धारणा राखेका थिए । बैठकको सहजीकरण सचिव कृष्ण हुमागाईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्